सिन्धुपाल्चोक: सस्तोमा सुन किन्न काठमाण्डौंबाट सिन्धुपाल्चोक पुगेका सुनसरीका निरोज घिमिरेको हिजो मंगलबार लुटिए । उनको साथबाट १० लाख रुपैया अज्ञात व्यक्तिहरुले लुटेर लगेको प्रहरीले पुष्टि गरेको छ ।

अपरिचित व्यक्तिसँग निरन्तर सम्पर्कमा रही सिन्धुपाल्चोक पुगेका घिमिरेले लुटेराहरुलाई पनि नचिनेको कारण समस्या भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घिमिरे र काठमाण्डौका मेखराज खत्री सस्तोमा सुन खरीद गर्न बलेफी गाउँपालिकाको ७४ किलो भन्ने ठाउँमा पुगेका थिए । नजिकै जंगल भएको सो क्षेत्रमा दुवैलाई अज्ञात समुहले लुटेको प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साजन भन्ने व्यक्तिले त्यहाँ बोलाएपछि उनीहरु पैसासहित पुगेका थिए । सो स्थानमा पुगेपछि दुवै जनालाई कुटपिट गर्दै नगद लुटेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सस्तोमा सुन दिने भन्दै प्रलोभन पारेर लुट्ने गिरोहबाट घटना गराएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार केही दिनदेखि सुनसरीका घिमिरेसँग साजन भन्ने व्यक्तिको निरन्तर फोन सम्पर्क भएको थियो । घिमिरेसँगै खत्रीसँग पनि साजनको कुराकानी भएपनि दुवै जना उनीसँग अपपिरचित नै थिए । साजनले आफुसँग १ किलो सुन भएको र २८ लाखमा दिने भन्दै मोलमोलाइ गरेका थिए । उनीहरुबीचमा लामो डिल भएपनि तत्काल १० लाख दिएमा १ किलो सुन दिने बताएपछि उनीहरु त्यही प्रलोभनमा पैसा लिएर बलेफी पुगेका थिए ।

सर्तअनुसार नै घिमिरे र खत्री १० लाख रुपैया भएको झोला बोकेर बलेफीको ७४ किलोस्थित जंगलमा साजनको प्रतिक्षामा बसिरहेका थिए । त्यहाँ उनीहरुले साजनलाई करिब १ घण्टासम्म पर्खिएका थिए । सुन लिएर आउने प्रतिक्षामा बसेका घिमिरे र खत्रीलाई एक्कासी पछाडिबाट रुमालले मुख छोपेर कुटपिट गर्दै १० लाख लुटेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट र लुटपाटमा ३ जना व्यक्ति संलग्न छन् । उनीहरुले घिमिरे र खत्रीलाई रडले प्रहार गरेर बेहोस हुने गरी निर्घात कुटपिट गरेको प्रहरीको भनाई छ । ‘घटनाबारे जानकारी आएलगत्तै खोजी कार्य तीब्र बनाएका छौ,’प्रहरी निरीक्षक ढकालले भने ।