इटहरी:दोस्रो सभामुख कप भलिबल प्रतियोगिता बिहीबारदेखि इटहरीमा शुरुवात भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई सोझो सेटमा हराउदै विजयी यात्राको थालनी गरेको छ । दोश्रो खेलमा पनि अर्को विभागीय टोली नेपाल आर्मीले कर्णाली प्रदेशलाई साझो सेटमा नै पराजित गर्यो भने तेस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले पनि प्रदेश नं ७ लाई सोझो सेटमा नै हरायो ।

लगातार तीन खेलमा विभागीय टोलीले जित हासिल गर्दा चौथो खेलमा गण्डकी प्रदेशले पनि प्रतियोगितामा विजयी शुरुवात गरेको छ । गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ३–१ सेटमा हरायो । गत बर्ष पहिलो सँस्करण रोल्पामा भएको प्रतियोगिता यसपटक सुनसरीको इटहरीमा आयोजना भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा सुनसरी खेलकुद विकास समितिको संयोजनमा शुरु प्रतियोगिता पुष २३ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभातीय टोली गरी कुल १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ४ लाख नगद, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनुरोध थापाले बताए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २४ इन्च को एलईडी टिभी प्रदान गरिनेछ भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्वरलाइ जनही नगद पाँच हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ ।