इटहरी : राष्ट्रपति विद्यादेवी भण्डारीको सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

तरहराका स्थानीय कृष्ण घिमिरेले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति कृषि फार्म तरहरा आउँदा बाटोको दुबै तर्फ बस्न नपाउनु, सार्वजनिक यातायात बन्द गरि टाढा जाने यात्रुलाई असहज परिस्थिति सृजना गर्नु हुँदैनथ्यो ।’ घिमिरेका अनुसार पूर्व राजाको सवारीमा पनि यस्तो नहुने भएकाले यात्रुलाई असहज हुने गरि बाटो निषेध गरिनु गम्भीर विषय हो ।

उनले सुरक्षा गर्नुपर्ने भएपनि स्थानीय मानिसलाई नै घण्टौँसम्म बाटो बन्द गर्नु नकारात्मक कुरा रहेको औँल्याए । त्यस्तै, स्थानीय गणेश निरौलाले पनि फेसबुकमार्फत राजा आउँदा यस्तो नभएको भए पनि राष्ट्रपति आउँदा अन्य मानिसहरुलाई असहज हुने गरि बाटो बन्द गरेकाले आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘तत्कालिन राजा पैदल यात्रा गर्दै सुनसरीको राजाबास आएर बास बसी भोलिपल्ट हिडेपछी थाहा भयो की राजा आएर बास बसेका रहेछन् । देशमा गणतन्त्र आयो । राष्ट्रपति देश दौडाहामा हिड्छन् । सास्ती पाउने त सर्वसाधारणले हो ।’

उनले ४ घण्टादेखी सर्वसाधारण सुरक्षाकर्मीबाट आतंकित हुनुपरेको प्रती आपत्ती जनाए आफ्नै घर जानपनि निकै असहज भएकाले लोकतन्त्रको महसुस नभएको उनको भनाई छ । ‘आखिर कस्को लागि गणतन्त्र, नयाँ राजा महाराजाहरुका लागि हो की नेपाली जनताका लागि हो ?’ उनले फेसबुकमा लेखेका छन् । विहीबार राष्ट्रपति भण्डारीले यहाँस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको थियो । सोही कार्यक्रमका लागि उनी आउने क्रममा सर्बसाधारण मानिसहरुलाई सुरक्षाकर्मीहरुले आतकिंत पार्ने काम गरेको निरौलाको आरोप छ ।

इटहरी २ का सुधीर केसीले पनि राष्ट्रपतिको फोटो फेसबुकमा राख्दै लेखेका छन्,‘ राष्ट्रपति कृषि केन्द्रमा आउने खबरले खुशी लाग्यो, गाउँमा खुशीको लहर थियो, राष्ट्रपतिको अभिव्यक्ति सुन्न पाइएला भनेको थियो तर कडा सुरक्षा घेरा छ भनेर सुनेपछि खल्लो भयो ।’ उनले संकटकालमा पनि नभएको कडा सुरक्षा घेरा रहेकाले राष्ट्रपतिको स्वागत गर्न नपाएको प्रति फेसबुकमार्फत खिन्नता प्रकट गरेका छन् । ‘वरू राजालाइ भेट्न सजिलो हुने रहेछ तर रास्ट्रपतिलाइ नसकिने भो,’ उनले लेखेका छन् ‘सर्वसधारण संग भेटन र वोल्न नपाइने नियम रहेछ ।’

b 2

संस्थाको अवलोकन भ्रमणमा सर्वसाधारण मानिसहरुले जान पाउनुपर्ने उनले बताए । राष्ट्रपति भण्डारी भने अवलोकन भ्रमणपछि विराटनगर प्रस्थान गरेकी छिन् ।