इटहरी:तरहरा जेसीज बर्ष २०१९ का लागि अध्यक्ष पदका लागि गणेश घिमिरे र विकास गिरीको उमेद्वारी परेको छ ।

२००७ सालमा जेसीजमा सदस्य भएका घिमिरे बर्ष २००८ मा उपाध्यक्ष, ९ मा कार्यकारीणी उपाध्यक्ष, १० मा महासचिव, ११ मा कानुनी सल्लाहकार भएका हुन् । उनले २००७ मा उत्कृष्ट नयाँ सदस्य पुरस्कार, २००७ मै नेपाल जेसीजको एरिया ए मा वक्तित्वकलामा प्रथम भएको सुनाउँछन् । ‘त्यो बेलाको बिधानले एउटा मनोनित पद खाएपछि अध्यक्ष हुन क्राइट एरिया पुग्थ्यो,’उनले भने, ‘मैले २०११ मै अध्यक्ष हुनुपर्ने हो, त्यहाँदेखि छाड्दै आएको छु, अहिले म नै अध्यक्ष हो ।’ उनी आँफू पुराना अध्यक्षसँग पनि नजिकको हेलमेल भएकाले आँफू नै अध्यक्ष हुने विश्वस्त छन् ।

अर्का प्रत्यासी विकास गिरी २००४ सालमै तरहरा जेसीजको सदस्य भए । उनले २००५ मा भगिनी सम्बन्ध अभिबृद्धि संयोजक, २००६ मा तालिम संयोजक, २००७ मा जनसम्पर्क अधिकारी भए । त्यस्तै, २००९, १० र ११ मा भने बाहिर भएका कारण उनी क्रियाशिल हुन पाएनन् । उनी बाहिरबाट आएपछि भने क्रियाशिल हुँदै गए । गिरीले २०१२ मा उत्कृष्ट जेसीज सदस्य, २०१३ मा कार्यकारीणी उपाध्यक्ष, २०१४ मा उपाध्यक्ष र १५ मा अन्तराष्ट्रिय सम्पर्क संयोजक भए भने २०१६ मा कानुनी सल्लाहकार भए ।

२०१७ मै अध्यक्षको क्राइट एरिया पुगेकाले दुई बर्ष आँफूले अध्यक्ष पदका लागि छाडेको र यो बर्ष आँफू नै अध्यक्ष हुने दाबी गर्र्दै आएका छन् । ‘जेसीज व्यक्तित्व र नेतृत्व अभिबृद्धि गर्ने संस्था हो,’ उनले भने,‘मानव राम्रो बनाउनमा जेसीजको ठूलो भूमिका छ ।’ तरहरा जेसीज जातीय र दलीय राजनीति भएको भन्ने बुझाई आम मानिसमा भएको छ नि भन्ने प्रश्नमा गिरीले भने, ‘जेसीज यस्तो संस्था हो, जसले कुनै धर्म, जात, राजनीति, लिङ्ग नबोक्ने संस्था हो ।’

उनले राजनीति र जाती नहेरी काम गरेको बताउँदै मानवताको सेवालाई अगाडि बढाएर काम गर्ने बताए । टोल टोलमा जेसीजको महत्व र यसलाई बुझाउने उनको भनाई थियो । तरहरा जेसीजमा सिकेको सीप ठाउँ–ठाउँमा प्रष्फुटन गर्न सक्ने माध्यम बनाउने उनको भनाई छ । चुनावको हल्ला चलेपनि घिमिरे अथवा गिरी एकजनाले अध्यक्षको उमेद्वारी छाड्नुपर्ने जेसीजकै एक सदस्य बताउँछन् । सन् १९९७ मा तरहरा जेसीज स्थापना भएसँगै अध्यक्ष पदका लागि हालसम्म चुनाव नभएकाले एकजनाले चुनाव छाड्नुपर्ने सदस्यहरुको बुझाई रहेको छ । आफू एक कार्यकाल अध्यक्ष नै हुने अडान भने दुवैले छाडेका छैनन् ।