विराटनगर: बिराटनगर–इटहरी मोनोरेल निर्माणका लागि ३० अर्ब लगानी जुटेको सरोकारवालाले बताएका छन् ।

बिराट मोनोरेल इन्टरनेशनलले यो मोनोरेल निर्माणमा जापान र भारतको लगानी भित्रिन लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयले मोनोरेल निर्माणका लागि नव नियुक्त उपाध्यक्ष अजय कुमार सत्यालको पहलमा जापान र भारतबाट ३० अर्ब लगानी भित्रिन लागेको हो । 'प्रारम्भिक चरणको समझादारी पत्रमा हस्ताक्षर पनि भइसकेको छ,' आत्रेयले भने ।

कम्पनीले जापानी प्रबिधीको मोनोरेलको निर्माण गर्ने बताएको छ । कम्पनीमा नव नियुक्त उपाध्यक्ष सत्यालका अनुसार ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर इटहरी मोनोरेल निर्माण गरिनेछ । यो परियोजना आगामी ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पनि सत्यालले बताए । आगामी २ साताभित्र डीपीआर बनाउने काम शुरु हुने कम्पनीको भनाई छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका रमेश पुजारी पनि सहभागी छन् । मोनोरेल करिब ३० किलोमिटर लामो हुनेछ । यसले एक दशकभित्र आफ्नो लगानी उठाइसक्ने अनुमान कम्पनीको छ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

यो मोनोरेल निर्माणको लागि विराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेको छ । मोनोरेलमा प्रदेश सरकार र सरोकारवाला अन्य स्थानीय तहरुहरुले पनि लगानी गर्न चासो देखाएको कम्पनीका अध्यक्ष अशोक मेहताको भनाई छ । मोनोरेलमा एक पटकमा ५ सय यात्रु क्षमता हुनेछ । विभिन्न ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालिले यो मोनोरेल निर्माण गर्न लागेको हो ।

(तस्बिर: गुगल)