धरान : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरी जिल्लाको बास्केटवल खेलाडी छनौट गरिएको छ ।

धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसको बास्टेवल कोर्टमा शुक्रबार राष्ट्रिय खेलकुदको लागि जिल्लाका खेलाडीहरु छनौट गरिएको हो । सुनसरीबाट १३ जना खेलाडि छनौट गरिएको प्रशिक्षक विकास राईले जानकारी दिए । उनका अनुसार सुनसरी जिल्ला टिमको लागि सुनसरीका ४० जना सिनियर खेलाडिहरुले फारम भरेका थिए । आठौ राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना गर्ने तयारी राखेपले गरिरहेको छ ।

        प्रशिक्षक राईका अनुसार छनौट हुनेमा नविन राई, प्रदिप गुरुङ्ग, सुजन राई, सर्वधन राई, वैभव योगि, सिजन धमाला, पन्चधन राई छन् । यस्तै, रवि वास्फोर, सन्तोस तामाङ, विक्रम लिम्वु, सुसन श्रेष्ठ, दिवस राई र विवेकमणी श्रेष्ठ पनि छनौट भएका छन् । जिल्लाको टिममा १० जना मात्र खेलाडी रहने भए पनि छनौट समितिले १३ जना खेलाडी चयन गरेको नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए । उनका अनुसार छनौट भएकाहरु मध्येबाट पनि प्रशिक्षणको क्रममा क्षमता र प्रतिभा हेरेर प्रदेश टिमको लागि उत्कृष्ट १० जनालाई मात्र राखिनेछ । प्रदेश टिम छनौट प्रतियोगिता माघ तेस्रो साता हुने राखेपको भनाई छ । छनौट कार्यक्रम जिल्ला खेलकुद विकास समितिको अयोजना, जिल्ला बास्केटवल संघ सुनसरीको संयोजन र धरान वास्केटवल संघको सहयोगमा भएको थियो ।