तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित थलाडाँडामा भ्यु–टावर निर्माणको काम अलपत्र रहेको छ । सो डाँडामा भ्यु–टावर निर्माणसँगै पर्याप्त पर्यटकीय सम्भावना भएपनि सम्बन्धित निकायको ध्यान नपुग्दा पर्यटकीय पुर्वाधार निर्माणमा ढिलाई भइरहेको स्थानीयबासीले गुनासो गर्न थालेका छन् ।

डाँडामा सामान्य पुर्वाधार व्यवस्थापन नहुँदै आन्तरिक पर्यटकहरुको भने भीड लाग्न थालेको छ । भ्यु–टावर निर्माणकालागि तयार गरिएको स्थानसँगै निर्माण भएको पार्कमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा आगन्तुक पर्यटकहरु पुग्ने गर्छन् । विदाको दिन शनिबार सो क्षेत्रमा विशेष चहल पहल हुने गर्छ । सो डाँडा म्याङलुङकै आकर्षक र पर्याप्त सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकीय गन्तव्य बनाउन पुर्वाधार निर्माण आवश्यक देखिएको शनिबार घुमफिरका लागि पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी प्रभात घिमिरेले बताए ।

DSC_0153 copy

भ्यु–टावर तथा पार्क निर्माणको काम तीन वर्षअघि तत्कालिन जिल्ला वन कार्यालयको ८ लाख रुपैयाँ, नगरपालिकाको १ लाख रुपैयाँ र ९० हजार रुपैयाँ स्थानीयको गरी कुल ९ लाख ९० हजार रुपैयाँमा सुरु भएको थियो । भ्यु–टावर निर्माणका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन नगर्दा योजना अलपत्र बनेको थियो ।

चालु आर्थिक वर्षमा पुनः म्याङलुङ नगरपालिकाले १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । एक नम्बर वडा कार्यालयले पार्कको संरक्षण र व्यवस्थापनमा खर्च गर्दै आएको तर पर्याप्त बजेट नहुँदा समस्या रहेको वडाध्यक्ष इन्द्रराज लिम्बुले बताए । पार्कमा बनभोज खाने र घुमफिर गर्नेहरुको संख्या बढ्न थालेपछि वरिपरि फोहोरमैला समेत बढेको छ । पार्कमा खानेपानीको समेत सुविधा पु¥याउन आवश्यक देखिएको म्याङलुङबजारका व्यवसायी शंकर जोशीले बताए ।