तेह्रथुम: तीन वर्ष अघिसम्म पुर्वी नेपालका धेरै किसानले फलाउने ‘कालो सुन’ को उपनामले परिचित अलैँचीको मुल्य प्रतिके.जी.पच्चीस सय रुपैयाँ हाराहारी थियो । त्यतिवेला अलैँची विक्री गरेर किसानले प्रति मन (४० केजी) एक लाख रुपैयाँ बढीले समेत कारोबार गरे । थोरै जमीनमा लगाएको बगानबाट वार्षिक ४–५ मन अलैँची उत्पादन गर्ने किसानले पनि राम्रो आम्दानी गरे ।

सोचेभन्दा बढी मुल्य प्राप्त गर्दा किसान खुब हौसिए पनि । बगान नहुनेले खाली जमीनमा अन्नबाली मासेर अलैँची रोपे । अलैँचीका वेर्ना र बगानकै पनि किनबेच राम्रो थियो । धेरै किसानको ध्यान अलैँची खेतीमा तानिएको र अलैँचीका वेर्ना अभाव भइरहेका वेला लालीगुराँस नगरपालिका–९, सोल्माका किसान टेकबहादुर केप्छाकीले भने वेर्ना उमार्ने र विक्री गर्ने सोचले नर्सरी सुरु गरे । ‘स्वदेशमै केही गर्नुपर्छ र स्वरोजगार बन्नुपर्छ’ भन्ने सोच राख्ने टेकबहादुर (४०)ले अलैँचीको नर्सरी उमार्न आवश्यक लगानी र प्राविधिक ज्ञान बटुल्दै थिए । दौंतरीहरु खाडी मुलुकमा पैसा कमाउन लाग्दै गर्दा गाउँमा अलैँची र चिया खेती थाल्नुभएका टेकबहादुरलाई अलैँचीका बेर्ना उमार्न लगानीको खाँचो थियो । त्यही वेला जिल्लामा डेनिस सरकारको सहयोगमा सन्चालित उन्नति परियोजना भित्रियो, र उनलाई अलैँची वेर्ना उत्पादनमा प्रोत्साहन गरिदियो । टेकबहादुरले अहिले गाउँ नै ढाक्ने गरी अलैँचीका बेर्ना उमारेका छन् । पुख्र्यौली रुपमै अलैँची खेती गर्दै आएका मगरलाई उन्नति परियोजनाले अलैँची नर्सरी लगाउन १७ लाख रुपैयाँ अनुदान दिएको थियो । उनले त्यति नै रुपैयाँ थप गरेर २० लाख भन्दा बढी अलैँचीका विरुवा उमारेका छन् ।

kepchaki_terhathum (4) copy

उनले उमारेका विरुवा प्रतिबोट ५ रुपैयाँले मात्रै विक्री हुने हो भनेपनि १ करोड रुपैयाँ आम्दानी हुन्छ । तर कुनैवेला प्रतिबोट १२–१५ रुपैयाँसम्म पर्ने अलैँचीका बेर्ना अहिले ५ रुपैयाँका दरले पनि किनबेच भइरहेको छैन । बेर्ना विक्री नहुँदा हुर्किएका अलैँची बेर्ना कसरी जोगाउने ? र लगानी कसरी उकास्ने ? भन्ने चिन्ताले टेकबहादुरलाई सताएको छ । जिल्लाको मागभन्दा बढी अलैँचीका बेर्ना उत्पादन भएपछि अलैँचीका बेर्ना विक्री भएका छैनन् । एक वर्षअघि नै विक्री गर्न तयार भएका बेर्नाहरु अहिलेसम्म पनि विक्री भएका छैनन् । यो वर्ष उनले १ लाख विरुवामात्रै विक्री गरेको बताए । बाँकी १८ लाख बढी अलैँचीका विरुवा नर्सरीमै हुर्किएका छन् । एक करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका टेकबहादुर भन्छन्, ‘बेर्ना त उमारियो, तर पहिले जस्तो अहिले बजार छैन, नर्सरीमै खेर जाने चिन्ताले रातमा निद हराएको छ ।’ सस्तोमा विरुवा विक्री गर्न चाहँदा पनि विक्री नभएको उनले बताए । नर्सरी उमार्न उनले केप्छाकी बहुउद्देशीय नर्सरी फार्म दर्ता गरेका छन् ।

उनले १ सय २५ रोपनी क्षेत्रफल जमिनमा अलैंचीको नर्सरी उमारेका छन् । नर्सरीमा आफैँ खटेर काम गर्छन् । अनि श्रीमती, छोरा र बुहारीले पनि काममा सघाउँछन् । आफुले नर्सरीका लागि आवश्यकता अनुसार १० जनासम्म कामदार लगाउने गरेको उनले जानकारी दिए । आफ्नो ४५ रोपनी जमिन थोरै भएपछि मगरले छिमेकी र आफन्तसँग ८० रोपनी जमिन वार्षिक २ लाख बुझाउने गरी लिजमा लिएका छन् । बेर्नालाई स्थानान्तरण गरेर हुर्काउन थप जमीन आवश्यक भएको उनले बताए । ‘वेर्ना ठाउँ नसारे विग्रिएर जाने अवस्थामा पुगेका छन्,’उनले भने, ‘ठाउँ सार्नका लागि तयारी गरेको छु, तर सबै विरुवा ठाउँ सार्न पर्याप्त जमीन छैन ।’ सबै विरुवा आफैले रोपेर खेती लगाउन समेत ठाउँ नभएको उनले बताए । पछिल्लो वर्षहरुमा क्रमशः अलैँची भाउ घटेपछि जिल्लामा अलैँची विरुवाको माग शुन्य जस्तै छ । अलैँची विरुवा सित्तैमा लगेर रोप्न भनेपनि मुल्य घटेका कारण किसानलाई नयाँ बेर्ना रोप्न जाँगर छैन ।

kepchaki_terhathum (3) copy

मुल्यको उतार चढावका कारण अलैँचीप्रति किसानको निराशा बढेको र वेर्ना विक्री नभएको किसान मगर बताउछन् । स्थानीय हावापानीमा राम्ररी फस्टाउने रामसाई र गोल्साई जातका अलैंचीका बिरुवा नर्सरीमा हुर्काएका छन् । यहाँको मध्यम हावापानीमा उमारिएका विरुवा पुर्वी पहाडका अलैँची खेती हुने सबैजसो जिल्लामा रोप्दापनि उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । आफुले स्वस्थ विरुवा उत्पादन गरेको बताउने मगरले विरुवा विक्री गर्न सरकारी सहयोगको आशा रहेको बताउछन् । मगरले वेर्ना उत्पादनमा सहयोग पाएपनि बजारीकरणमा कसैले सहयोग नगरेको गुनासो गररे । उनलाई उन्नति समावेशी वृद्धि कार्यक्रमले बिरुवाका लागि एग्रोनेट, हिलट्याङक लगायतका सामान खरिद गर्न सहयोग प्राप्त भएको थियो ।

मगरको जस्तै जिल्लामा अलैँची वेर्ना उमार्ने किसानको संख्या दर्जन हाराहारी छ । उनीहरुले पनि बेर्ना विक्री नभएको भन्दै गुनासो गरिरहेका छन् । वेर्ना विक्री नहुँदा नर्सरीमा गरिएको लगानी खतरामा परेको म्याङलुङका व्यवसायी दिपक भण्डारीले बताए । उनले भने,‘वेर्ना त उमारियो, तर माग कतैबाट आएनँ ।’ जिल्लाका किसानलाई आवश्यक पर्ने वेर्ना गाउँपालिका र नगरपालिकाले अनुदानमा समेत वितरण गर्दै आएका छन् । तर अनुदानमा वितरण हुने विरुवा लिन समेत किसानले जाँगर देखाएका छैनन् । अलैँचीको मुल्यमा आएको गिरावटले किसानलाई अलैँची खेतीमा लगानी गर्न जोश नभएको अलैँची व्यवसायी संघका जिल्ला सचिव तुलसी ढकाल बताउछन् । उनी भन्छन्,‘अलैँचीको मुल्यमा एकरुपता छैन, अझ भनौँ यसको बजार सुनिश्चित भएनँ, जसकारण किसानमा त्रास फैलिएको छ ।’ अलैँची बगानमा रोकको संक्रमणका कारण पनि किसानले अलैँची खेतीमा लगानी गर्न छाडेका व्यवसायी ढकालले बताए ।