धरान:इलाका प्रहरी कार्यालय धरानले तीनकुने जाँच पोष्टबाट खुकुरी र लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

इटहरीबाट धरान आउदै गरेको को २६ प ९४९० नम्बरको मोटरसाइकल चेकजाँचको लागि नरोकी भाग्न खोज्दा कुकुरसँग ठोकिएर सडकमा लडेको थियो । प्रहरीले तत्कालै मोटरसाइकल चालक रामधुनी नगरपालिका वडा नं ५ का निर्मल श्रेष्ठलाई उठाएर चेकजाँच गर्दा कालो झोलामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठका झोलाबाट डियालेक्स डिसि १०० एमएल १८ बोलत, नाइट्रोसन ट्याब्लेट २ पत्ता(२० पिस), एपास्मोप्रोक्सिभन २ पत्ता(४८ क्याप्सुल) वरामद भएको जनाएको छ । साथै, उनको साथबाट एउटा खुकुरी र आइफोन मोवाइल पनि फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल लड्दा घाइते भएका श्रेष्ठलाई उपचारसँगै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।