ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “घरमै यौन व्यवसाय” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झापाको धुलाबारी ९ की एक महिलाले आफ्नै घरमा बाहिर होटल र भित्र यौनव्यवसाय सञ्चालन गरेको पाइएको छ । शनिबार राति ८ बजेतिर होटलमा कार्यरत आफनी दिदीलाई भेट्न गएका भाइले यौन क्रियाकलापमा संलग्न भएको भेटेपछि उक्त रहस्य खुलेको हो । आफ्नी दिदीलाई भेट्नका लागि युवक पुग्दा नभेटेपछि होटल घरको कोठामा प्रवेश गर्दा दिदीलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला पारेका थिए । दिदीलाई भेट्न जादाँ यहाँ छैन भनेर ढाटे । घरभित्र छिर्न खोज्दा दिएनन् । जर्वजस्ति छिर्दा आफ्नी दिदीलाई गलत गतिवीधी गर्दै गरेको भेटेपछि आफुले हेर्नसक्ने अवस्थै भएन उनले भने । त्यसपछि बाहिर निस्कन खोज्दा होटलको साहुनी र मापसे गरेका केही युवकले आफुमाथि हातपात गरेको ती युवकले बताए । ती युवकले नै प्रहरीमा खबर गरेपछि छापा मार्ने क्रममा प्रहरीले होटलकी साहुनी सहित उनको दिदीलाई पनि पक्राउ गरेको थियो । उनी घरबाट बाहिर निस्किएपछि गाउँमा हल्ला भएको थियो । युवकको जानकारीको आधारमा साहुनी र उनको दिदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए । सोही होटलमा मापसे गरेर हातपात गर्नेहरु फरार रहेकाले उनीहरुले प्रयोग गर्ने गरेको मे.५ प. ८७७० नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “चालक र ढुवानीकर्तालाई कारवाही, प्रमुखलाई उन्मुक्ति !” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारतीय आयल कर्पोरेशन बरौनी डिपोबाट लोड गर िआएका ट्याङकरबाट भएको तेल चोरी प्रकरणको छानविन प्रतिवेदन गुपचुप राखिएको छ । छानविनका क्रममा आयल निगम प्रादेशिक कार्यालयका विराटनगरका निर्देशक दिनेश यादवको दोष देखिएपछि प्रतिवेदन गुपचुप राखिएको श्रोतले बताएको छ । तेल चोरी प्रकरणको छानविनका लागि गठन भएको समितिले बुझाएको प्रतिवेदनका आधारमा चोरीमा संलग्न ट्याङकर चालक र ढुवानीकर्तालाई कारवाही गरिपनि विवादस्पद छविका प्रादेशिक निर्देशक यादवलाई उन्मुक्ति दिइएको हो । चोरी प्रकरणको छानविनका लागि नेपाल आयल निगमले उपनिर्देशक अन्जना पोख्रेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “४० लाखको भवन बनाउँदै विश्वकर्मा युवा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान उपमहानगरको सुगम शहर भित्रको दुर्गम गाउँ धरान–५ स्थित देवी गाउँका युवाहरु सामुदायिक भवन बनाउनको लागि कम्मर कसेर लागि परेका छन् । सामाजिक कार्य गर्नका लागि सामुदायिक भवनको अभाव भएपछि त्यहाँका विश्वकर्मा युवाहरुले ४० लाखको अनुमानित बजेटमा भवन बनाउँदैछन् । सार्वजनिक जग्गामा अहिले चलनचल्ती अनुसार झण्डै १० लाख पर्ने २ कठ्ठा जग्गामा भवन निर्माणको कार्य धमाधम भैरहेको विश्वकर्मा युवा मञ्चका अध्यक्ष गोविन्द विश्वकर्माले बताए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “निजी स्कुल सेवामुलक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ७ वर्ष भित्र निजी स्कुलहरु बन्द गराउने सिफारिस संशोधन गर्ने भएको छ । आयोगको मस्यौदा प्रतिवेदन जस्ताको तस्तै कार्यन्वयन भए सात वर्षभित्र देशभरीका ६ हजारभन्दा बढि निजी स्कुल सामुदायिक वा नाफा रहित गुठीका रुपमा सञ्चालन हुनुपर्ने थियो । सक्दिन भनेर हात उठाउनेलाई सरकारले क्षतिपूर्ति दिएर आफ्नो स्वामित्वमा लिनुपर्ने थियो । दुवै अवस्थामा निजी स्कुल पढ्ने करिब १८ लाख विद्यार्थीको शैक्षिक जिम्मेवारी लिन सरकार सक्षम छ कि छैन भन्ने प्रश्न उठेपछि आयोगको जारी बैठकमा संशोधन गर्ने सहमति भएको हो । आयोगका सदस्य प्राध्यापक विद्यानाथ कोइरालाले उक्त प्रावधान संशोधन गरी निजी स्कुललाई विकल्प दिने सहमति भएको जानकारी दिए ।