धरान: पुष १७ गतेदेखि जारी रहेको लेटाङ गोल्डकपमा धरान फुटबल क्लबको टिम फाइनल पुगेको छ । धरानले अब मंगलबार फाइनलमा डाँगीहाट फुटबल क्लबको सामना गर्नेछ ।

स्थानीय जुनियर खेलाडीहरु भरिएको धरान टिमले सेमीफाइनलमा इटहरीको युवा जागृति क्लबलाई ४–२ गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको छ । फाइनलमा धरानको प्रतिद्धन्दी बनेको डाँगीहाटले बेलबारीलाई २–० गोलअन्तरले हराएको थियो । ‘जुनियर खेलाडीहरु धेरै छन्, धरानले भोली मंगलबार फाइनल खेल्दैछ,’धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले भने ।

क्लबले आगामी २१ औं बुढासुब्बा गोल्डकपलाई लक्षित गरी टिम तयार गर्न सागर घिमिरेलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ । घिमिरेकै प्रशिक्षणमा धरानको टिम लेटाङ गोल्डकपमा फाइनल पुगेको हो । फाइनलको प्रतिद्धन्दी डाँगीहाटमा पनि लोकल खेलाडीहरु नै भएकोले उपाधि धरानले जित्ने प्रशिक्षक घिमिरेको दाबी छ । ‘उपाधि हामी जित्छौ, भोली सिनियर एक जना खेलाडी पनि थपिदैछ,’उनले भने । गोल्डकप विजेताले नगद १ लाख र उपविजेताले ५० हजार, ट्रफी हात पार्नेछ । 

घिमिरेका अनुसार शहीद स्मारक लिगमा ब्रिगेड ब्वाइजबाट खेलेर फर्केका धराने खेलाडी अनिल राई भोली फाइनलमा उत्रनेछन् । धरानका अनुभवी सिनियर खेलाडी अनिल भारतीय सेनामा पनि फुटबल नै खेल्छन् । धरानको टिममा सिनियर खेलाडीहरु वर्तमान राई, सुवोध शाही, मिलन राई, विटु तामाङ र बसन्त बाँनिया खेलिरहेका छन् भने जुनियर खेलाडीहरुमा प्रविण लिम्बू(गोलकिपर), अस्मिन तोलाङ्गे, बिकु तामाङ, रिवश मास्के, तपन कार्की, उत्तम राई र विनोद राई छन् ।