काठमाण्डौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पुर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बिशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

आयोगले आज एक विज्ञप्ती मार्फत खड्काले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोड भन्दा बढी सम्पत्तिसमेत जफतको माग दाबी र दशीकोरुपमा ८९ लाख ८९ हजार नगदै अदालतमा दाखिला गरेको पनि जनाएको छ । खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको बिषयमा उजुरी परेपछि सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गरेको पनि आयोगले जनाएको छ । खड्कालाई बिगो १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैया २३ पैसा कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारे खड्काको आयबारे गरेको अनुसन्धान विश्लेषण:

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा रु ४०,५७,१५५।४७,
जग्गा बिक्रीबाट जम्मा रु ५८,७५,०००।,
ऋण सापटीबाट जम्मा रु ५,३३,३६,०००।
घर भाडाबाट रु १३,५६,०००। 
नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु २९,२२,६९८।२८,
पेन्सनबाट रु १४,७८,४८२।२४,
विप्रेषण आयबाट प्राप्त रु ८,२६,९१३।५४,
गाडी बिक्रीबाट रु ३५,००,०००।,
निजको छोरा बुहारीको पारिश्रमिकबाट रु ११,०४,००३।
जम्मा रु ७,४४,५६,२५२।५३ को साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय रु १,२०,१३,४९९। समेत गरी रु ८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो ।

निजको खर्च तथा लगानीतर्फ:

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो ।

निजले घरजग्गा खरिदमा रु ११,६१,४३,२०६।३१,
विभिन्न कम्पनीको शेयर खरिदमा रु १,०६,०४,०००।,
ऋणको सावाँब्याज भुक्तानीमा रु ४,२२,९६,२३९।९९,
व्यक्तिगत रूपमा दिएको सापटी रु १,२५,६०,०००।,
विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु १,१७,७५,०००।,
छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु २५,१४,६९५।,
गाडी खरिदमा रु १,१७,४२,०००।,
विभिन्न बैंकका एटिएम बाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु १,८०,१६,४४६।८२
विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु २,७१,५३,४२१।६४ समेत गरी
जम्मा रु २५,२८,०५,००९।७६ र
निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु २,०२,७०,३७१।( समेत गरी जम्मा रु २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय रु ८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको ।

खड्काले क कस्को नाममा राखे सम्पत्ति ?

अख्तियारले खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये विभिन्न व्यक्तिको नामा पनि राखेको खुलासा गरेको छ । अख्तियारका अनुसार तेह्रथुमको साबिक जिरीखिम्ती गाविस वडा नं २ घर भई काठमाण्डौ बुढानीलकण्ठ नपा वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई गैरकानुनी सम्पत्ति राखेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले उक्त सम्पत्ति जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरेको पनि जनाएको छ ।

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु ७,५४,५७,८७५ बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो ।
१} जिल्ला काठमाडौं साबिक महांकाल गाविस वडा नं ४ स्थित कित्ता नं १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु ३,२५,००,००० मा खरिद गरेको घर नं ३२ ।

२} जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गाविस वडा नं ३ ख स्थित कित्ता नं. ६८९, १४८२ र १५२० को मूल्य रु ४०,११,८७५। मा खरिद गरेको ८ आना जग्गा ।

३} मूल्य रु ८४,४६,०००। मा खरिद गरेको बा.१६ च.८४८४ नं. को टक्सन गाडी ।

४} जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं। ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु ३,०५,००,०००।

५} अमिता लामाको नाममा रहेको एनएमबि बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

दशी प्रमाणको रूपमा नगद दाखिला

जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ग मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू ८९,८९,०००। भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि.ले पत्रसहित उक्त रकम बराबरको गुड फर पेमेन्ट चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू ८९,८९,०००। जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ अदालत समक्ष दाखिला गरिएको छ ।