तेह्रथुम: तेह्रथुम र संखुवासभाको सीमावर्ती तीनजुरे मिल्के जलजले क्षेत्रका पर्यटकीय बजारहरुमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छ ।

पर्यटकीय बजारहरु गुफाबजार, सुकेबजार र जोरपोखरी बजारमा एकसाथ विद्युत विस्तार गरिएको हो । विद्युत विस्तार भएपछि बजार क्षेत्रमा हुने गरेको अन्धकार हटेको छ । चैनपुर नगरपालिका–१, नुनढाकीस्थित यी बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारपछि आइतबारबाट बत्ति बल्न थालेको सुकेबजारका सन्तोष लिम्बुले बताए । उनले भने,‘लामो प्रयासपछि बल्ल केन्द्रीय प्रशारणमा जोडियो, अब बजारबासी र आगन्तुक पाहुनाहरुलाई समेत सुविधा हुन्छ ।’

gufa2 copy

यी बजारहरु समुन्द्री सतहबाट २८ सय मिटर उचाईमा छन् । बजारमा विद्युत नहुँदा प्रविधिको प्रयोगबाट स्थानीयबासी बञ्चित भएका थिए । आगन्तुक पर्यटकहरुले पनि प्रविधिको प्रयोग गर्न विद्युतबारे सोध्ने गर्दा स्थानीयबासीले सुविधा दिन नसकेको महसुस गर्दै आएका थिए । बल्ल केन्द्रीय प्रशारण लाइनको बत्ती बलेको र अब सुविधा भएको गुफाबजारका धार्के शेर्पाले बताए । गुफाबजारमा यसअघि सीमखर्क जलविद्युत आयोजनाबाट विद्युतीकरण भएको थियो । १७ वर्षअघि निर्माण भएको आयोजनाको मेसिनमा समस्या आएपछि पाँच वर्षयता भरपर्दो विद्युत सेवा थिएन ।

आयोजना सन्चालन हुँदाका बखत् समेत स्थानीयबासीले पर्याप्त विद्युत उपभोग गर्न पाउदैनथे । आयोजनाले निश्चित समयमा मात्रै विद्युत उत्पादन गर्ने गरेको थियो । विद्युतमा भएको समस्याबारे पटक पटक स्थानीय सरकारदेखि सांसदसम्मलाई सुनाएपछि विद्युतीकरण भएको स्थानीय गुफापोखरी आधारभुत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् ।

gufa copy

बिद्युत पुगेपछि मोवाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न सहज हुने भएको उनको भनाइ छ । विद्युतीकरणका लागि दुई वर्षदेखि प्रयास हुँदै आएको र नेपाल विद्युत प्राधिकरणकै सहयोगमा बल्ल विद्युतीकरण गर्न सकिएको विद्यूत विस्तार समितिका सचिव केदारनाथ लिम्बुले बताए । सन् २००० तिरै पर्यटकीय बजारहरुमा विद्युतीकरणका लागि गोरखा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत सीमखर्क जलविद्युत आयोजना र खानेपानी आयोजना बनाइदिएका थिए । तर मुहान नै सुक्दै जानथालेपछि अहिले यो मुहानको खानेपानीले बजारबासीलाई पुग्दैनँ । पर्यटकीय बजारका बासिन्दाले खानेपानीको समेत उचित प्रबन्ध गरिदिन माग गर्दै आएका छन् ।