इटहरी : इटहरीमा माघ २४ गतेदेखि इटहरी फुड फेस्टिबल हुने भएको छ । सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै फुड फेस्टिबलबारे जानकारी गराइएको हो । होटल एसोसिएसन अफ इटहरीको आयोजनामा हुन लागेको उक्त फेस्टिबल फागुन ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

करीब दुई दर्जन बढी स्टलहरु रहने उक्त फेस्टिबलमा विभिन्न जातीय, नेपाली र भारतीय परिकारहरू राखिने होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । प्रदेश १ को पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि फुड फेस्टिबल आयोजना गर्न लागिएको उनको भनाई थियो । स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न हेलिकोप्टरबाट प्रदेश १ का पर्यटकीय क्षेत्र घुमाउने व्यवस्था गरिने समेत बताइएको छ ।

‘हेलिकप्टरबाट सिटी टुर र इटहरीबाट धरान, त्यस्तै, धार्मिक पर्यटकीयका लागि हलेसी, पाथीभरा सम्म हेर्न सकिन्छ,’ अध्यक्ष पराजुलीले भने, ‘आज हामीले स्थानीय सरकार र स्थानीय सुरक्षाकर्मी बीच छलफल गर्र्यौ करीब ४० लाख लागतमा फेस्टिबल सम्पन्न गर्ने उदेश्य छ ।’
उनका अनुसार हेलिकप्टरबाट मनोरञ्जन लिनका लागि के कति खर्च लाग्ने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको छ । उक्त फेस्टिबल इटहरीको सानो जनता मा.वि मा आयोजना हुनेछ ।