धरानः धरानमा जारी १९ औं संस्करणको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङकप अन्तर्गत सोमबारको खेलमा धरानको वडा नं १५ विजयी भएको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा सोमबार वडा नं १० लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गदै वडा १५ क्वाटरफाइनलमा प्रबेश गरेको हो । वडा १५ को जितको लागि शुभम् कार्कीले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको ८ औं, १५ औं र दोस्रो हाफको ६७ औं मिनेटमा गोल गदै म्यान अफ दि म्याच समेत घोषित भए ।

दोस्रो हाफको ७० औं मिनेटमा वडा १५ का प्रज्ञान देवानले थप एक गोल गदै जित सुनिश्चित गरे । पराजित टोली वडा १० बाट ३२ औं मिनेटमा सान्त्वना स्वरुप एक गोल अजय राईले गरे । मंगलबार गोधुलीको ६ पटक विजेता धरानको वडा नं १९ र वडा १२ बीच हुने आयोजकले जनाएको छ ।