झापा: कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मौरीपालनको लागि नीति निर्माण गर्दै मह प्रशोधनका लागि छुट्टै ल्यावको स्थापना गर्ने बताए । उनले सरकारीस्तरबाट प्रशोधनको लागि ल्याब स्थापना गर्न आफ्नो पनि पहल हुने उनको भनाई थियो ।

नेपाल मौरी पालक महासंघ भरतपुर चितवनको २० औं बार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार झापाको विर्तामोडमा सम्मेलन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । मन्त्री खनालले मौरी चरन क्षेत्रमा बिषादी प्रयोग गर्नेलाई जरिवानासहित जेल सजाय गर्ने कानुनको व्यवस्था गर्ने पनि बताए । “मौरी चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जो कोहीलाई जरिवानासहित जेल सजायको ब्यवस्था गर्ने गरी कानुन निर्माण गर्छौ,”मन्त्री खनालले भने । मन्त्री खनालले आयात न्युनिकरण गर्दै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेका थिए ।

मौरीपालक महासंघकी केन्द्रीय उपाध्यक्ष देवी दाहालले किसानलाई चरनको ज्यादै ठुलो समस्या भएको बताइन् । उनले चरनको बेला स्थानीयहरुबाट असहयोग हुने र बिषादीको प्रयोगले समस्या भएको उनको भनाई थियो । मौरी चरनबाट परागसेचन हुने र उत्पादन वृद्धिमा मद्दत पुग्ने भए पनि किसानहरुले यसबारेमा नबुझेर समस्या भएको उनको भनाई थियो । “मौरी चरनमा लगेको वेला स्थानीयहरुबाट असहयोग र बिषादीको प्रयोगले समस्या हुने गरेको छ,”उनले भनिन्,“मौरी चरनवाट राम्रो परागसेचन हुनेहुदा उत्पादन वृद्धिसँगै बालीमा रोग, किराको प्रकोप पनि कम हुन्छ, पर्यावरणमा पनि सकारात्मक प्रभाव पर्छ तर कृषकले यसबारे नबुझेर हामीलाई समस्या पर्ने गरेको छ ।”

नेपाल मौरी पालक महासंघले कृषकका समस्या समाधानमा पहल गरिरहेको छ । किसानले उत्पादन गरेको महको वजारीकरणमा भने केन्द्रिय सहकारीले काम गरिरहेको छ । कार्यक्रम नेपाल मौरी पालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलको अध्यक्षता भएको थियो । पुर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी विशिष्ट अथिति रहेका थिए ।