ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “शुल्क नतिरेको भन्दै परीक्षा दिन बञ्चित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विर्तामोडको इडेन गार्डेन अंग्रेजी माविले शुल्क नतिरेको भन्दै करिब ३ दर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ । अभिभावकले शुल्क नतिरेको भन्दै विद्यालयले विभिन्न कक्षामा अध्ययनरत तीनदर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको हो । पटक–पटक शुल्क बुझाउनका लागी सुचना जारी गर्दा पनि अभिभावकले अटेर गरेपछि परीक्षाबाट बञ्चित गराइएको विद्यालयका संयोजक सुशील अधिकारीले बताए । विद्यालयका प्रधानाध्यापक मोहन आचार्य बिदामा रहेकाले आफुले विद्यार्थीहरुको हकमा के हुने भन्ने विषयमा दीर्घकालीन निर्णय गर्न नसक्ने बताए । निजी विद्यालयमा अहिले तेश्रो त्रैमासिक परीक्षा भइरहेको छ । परीक्षाको पहिलो दिन ती विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरी घर फर्काइएको हो ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उदघाष दैनिकले “नम्बरी जग्गामा पसेर जबर जस्ती दोहन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । खोलाबाट ढुंगा, गिटी, बालुवा निकालने नाममा व्याक्तिको नम्बरी जग्गा जबरजस्ती उत्खनन् गरीएको भन्दै बेलबारी र कानेपोखरीका स्थानीयले विरोध जनाएका छन् । उनीहरुले स्थानीय चिसाङ खोलाको गिटी बालुवा निकाल्ने समिर नाका र शान्तिटोल नाकामा सडक अवरोध गरी ट्याक्टर, ट्रीपर प्रवेशमा रोक लगाएका हुन् । बेलबारी ८ र कानेपोखरी ५ का स्थानीयले मङ्गलबार चिसाङ खोलामा प्रवेश गर्न लागेका तीनवटा ट्रिपरलाई फर्काइदिए । खोलाले नम्बरी जग्गा क्षति गरेपनि स्थानीय तहहरुले ढुंगा, गिटी, बालुवा निकासीमा मात्रै केन्द्रीत भएको र तटबन्धका लागि ध्यान नदिएको बेलबारी ८ का बद्रीनाथ ढकालले बताए । उनले नियम विपरीत खोलामा स्काभेटर प्रयोग हुँदा सम्बन्धित स्थानीय तहले कानुनी कारबाही नगरेको आरोप लगाए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “कृषि कार्यक्रममा असन्तुष्टि” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरी र मोरङ जिल्लाको लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनीधिहरुले असन्तुष्टि प्रकट गरेका छन् । कृषि ज्ञान केन्द्र इनरुवामा आयोजित कृषि कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा सहभागी सुनसरी र मोरङका कृषिक्षेत्र केन्द्रित गाउँ र नगरपालिकाका जनप्रतिनीधिहरुले असन्तुष्टि जनाएका हुन् । समारोहमा प्रमुख अतिथि प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेल थिईन् । उनले भने कृषि क्षेत्रको विकासका लागी कृषि सहकारी, समुह र वास्तविक कृषक संग समन्वय गरी काम गर्ने प्रदेश सरकारको नीति रहेको बताईन् । बास्तविक किसानलाई पहिचान गर्न परीचयपत्र वितरण गर्न आवश्यक रहेको बताउदै उनले कृषि क्षेत्रको अनुदान वास्तविक किसानसम्म पुग्नु पर्नेमा जोड दिईन् ।