उदयपुर:त्रियुगा नगरपालिकाले डिजिटल सुचनापाटी जडान गरेको छ । जनतालाई सूसुचित गर्ने तथा सूशासनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले गेटमा डिजिटल सुचना पाटी जडान गरेको जनाएको छ ।

नगरपालिकाका अनुसार सुचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रमका साथै विभिन्न सूचनाहरु हेर्न सकिन्छ । करिब ३ लाख लगातमा नगरपालिकाले २ वटा सुचना बोर्ड राखेको हो । सूचना अधिकारी विश्वजीत राईका अनुसार सूचना तथा सेवाहरुलाई पारदर्शी बनाउनको लागि नगरको सबै विवरणहरु सो बोर्डमा राख्न थालिएको हो । 'यसले सुशासन कायम गर्न मद्दत पुग्छ,’उनले भने ।

नगरपालिकाका अनुसार डिजिटल बोर्डमा जन्म मृत्यु, बसाईसराई जस्ता घटनादर्ताको विवरण हुन्छ भने नगरपालिकाको आय व्यय विवरण, करको विवरण, कर्मचारीको विवरण, मेयर तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति तथा अनुपस्थिति, कार्यपालिका बैठकको जानकारी लगायत सुचनाहरु हेर्न पाइन्छ । नगरपालिकाका सुचना प्रविधि अधिकृत इञ्जिनियर अबुद अलीका अनुसार नगर प्रवेश नाका लालपत्तामा पनि डिजिटल बोर्ड राखिनेछ भने केही दिन भित्र नगरका सेवा लिन लाईन बस्ने प्रणालीलाई समेत प्रविधीमैत्री बनाउने तयारी भइरहेको छ ।