इटहरी : ६ लेन सडकको काम तीब्र भएसँगै यहाँको व्यापारमा ह्रास आउन थालेको व्यापारीहरुले बताएका छन् ।

सडक विभागले अहिले इटहरी देखि धरानसम्मको ६ लेन बाटोको तीब्र रुपमा निर्माण गर्न थालेसँगै तरहराका व्यवसायीहरुले बाटो निर्माण भएसँगै व्यापारमा ह्रास आउन थालेको बताएका हुन् । बाटो निर्माण गर्दा सेवाग्राहीले पार्किङ गर्ने बाटो पनि काटिएकाले व्यापार घटेको हो ।

parking

तरहरामा लामो समयदेखि सेकुवा व्यापार गर्दै आएका शिब तामाङका अनुसार पहिलेको तुलनामा अहिले सेकुवा खानेको संख्या घट्न थालेको छ । ६ लेन सडकले बाटो काटिएपछि पार्किङ नहुने भएका कारण सेकुवा खान आउने मानिसहरुको संख्यामा ह्रास आउन थालेको हो । ‘अहिले त पार्किङ स्थल काटिएपछि समस्या भएको छ, हामी चिन्तित बनेका छौँ’ तामाङले भने ।

यात्रुहरुलाई समेत आवत् जावत् गर्नमा समस्या भएको र सडक निर्माणको काम सकिएपछि भने सहज हुने उनको भनाई छ ।
त्यस्तै स्थानीय कार्की होटेलका सञ्चालक जीवन कार्की पनि बाटो काटेसँगै व्यापारमा गिरावट आउन थालेको बताउँछन् । उनले भने, ‘पहिले सडकमै पार्किङ हुँदा अन्य मानिसलाई समस्या हुने गरेको थियो, अहिले त सडकमा पार्किङ पनि छैन, व्यापार सुख्खा छ ।’ स्थानीय होटेल व्यवसायी भक्त केसीले पनि पहिलेको तुलनामा तेब्बर मात्रामा व्यापार घटेको सुनाउँछन् । सडकले पार्किङस्थल काटिएको र दिनैजसो सेकुवा बेच्ने मानिसहरुले पसलहरु सञ्चालन गर्दै गएसँगै व्यापारमा ह्रास आउन थालेको उनी सुनाउँछन् । ‘ठूलो सडक बन्नु आँफैमा राम्रो कुरा हो, तर पनि पार्किङ नभएका कारण समस्या हुने गरेको छ,’ उनले भने । तरहरादेखि इटहरी २ बरगाछीसम्म मात्रै पनि ५० वटा भन्दा बढी सेकुवा पसलहरु रहेको र २०७४ सालमा दिनमा प्रत्येक पसलेले ३० देखि ५० हजार रुपैँया सम्मको व्यापार गर्ने र अहिले भने त्यसको आधा भन्दा कम व्यापार हुने स्थानीय व्यापारीहरु बताउँछन् ।
जोगवनी – विराटनगर किमाथाङ्का ६ लेनको सडक बनाउन २०७० साल असारदेखि नै काम सुुरु गरिए पनि काम सोचेजस्तो द्रूत गतिमा नहुँदा सर्वसाधारणलाई सास्ती हुने गरेको कुरा कुनै नौलो छैन । विराटनगरमा मात्रै नभएर इटहरीमा पनि धुवाँधुलोले प्रदुषण हुने गरेको छ । सडक निर्माणमा विभिन्न कानुनी उल्झन देखिए पनि सडक विभागको पक्षमा फैसला भएको हुँदा सडक निर्माण काम चाँडै सकिने इन्जिनिएरहरुको दाबी छ ।
व्यापारीहरुको आफ्नै पार्किङस्थल नहुँदा यसअघि सडकमै पार्किङ गर्दै आइएको थियो ।