पाँचथर : पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।

सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए ।
स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ ।
फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ ।