अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट अभावका कारण विगत १९ दिनदेखि आंशिक बन्द रहेका सरकारी कार्यालय खुलाउने विषयमा डेमोक्रेटिक नेताहरुसँगको वार्ता बीचैमा छोडेर उठेका छन् ।

डेमोक्रेटिक नेता एवं तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र चक शुमरले अमेरिका र मेक्सीकोबीच पर्खाल लगाउनका लागि विनियोजन गरिएको बजेटमा सहमती नजनाएपछि राष्ट्रपति ट्रम्पले वार्ता भंग गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक नेताहरुसँग भएको वार्तालाई समय बर्वादीको संज्ञा दिएका छन् ।

बजेट अभावले सरकारी कार्यालय आंशिक बन्द भएपछि झण्डै ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै डेमोक्रेटिक नेताहरुलाई सीमा सुरक्षाका लागि आफ्नो योजनामा सहयोग गर्न भनेको तर उनीहरुले हुँदैन भनेर जवाफ दिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरु सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नु पर्ने अडान लिँदै आएका छन् ।

ट्रम्प संघीय सरकारको कार्यसञ्चालन सम्बन्धी बजेटमा ५।७ बिलियन अमेरिकी डलर मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनिएको सीमा पर्खालका लागि छुट्याउने अडानमा छन् ।

रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैले लम्बिँदै गएको सरकारी कामकाज ठप्पका लागि एकअर्कालाई दोष लगाइरहेका छन् ।

संघीय सरकारका कर्मचारीलाई तलब खुवाउन नसक्नु राष्ट्रपति ट्रम्पका लागि समग्र नोक्सानी रहेको सभामुख न्यान्सीले बताएका छन् ।
एजेन्सी