तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणकालागि आवश्यक जग्गा स्थानीयबासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीहरुले ६० लाख रुपैयाँ बराबरको ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

गाउँपालिकाको केन्द्र औंशीबजार नजिकै भवन निर्माणका लागि ६ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास समेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । उनका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गंगा राई, अमृतबहादुर लिम्बु र जयप्रसाद लिम्बुले संयुक्त रुपमा ३० लाख रुपैयाँ बराबरको ३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
यस्तै स्थानीयबासी शेरबहादुर थापाले स्वर्गीय श्रीमती तिलरुपाको स्मृतिमा ३० लाख रुपैयाँ बराबरको ३ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा प्राप्तिपछि अब गाउँपालिकाको आफ्नै भवन निर्माणकालागि पहल थालिने अध्यक्ष चोङवाङले बताए ।
उनले एक वर्षभित्र भवन निर्माण गरी आफ्नै भवनबाट कार्यालय सन्चालन गर्नेमा समेत जोड दिने बताए । गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाका लागि मात्रै गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । भाडाको घरमा साँघुरा कोठाहरु भएकाले काम गर्न समेत असजिलो भइरहेको छ । गाउँपालिकाले २२ कोठा भाडामा लिएर कार्यालय सन्चालन गरिरहेको छ ।