तेह्रथुम: तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

कैदीबन्दीले कारागार भित्रै कमाएर आफ्नालागि लत्ता कपडा र टेलिफोन खर्च मात्रै हैन, घर खर्च समेत पठाउने गरेका छन् । कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामाग्री तथा मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारबाट कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका नाइके विवेक लिम्बुले बताए । ‘ढाका टोपी, चोयास, बेतबासको सामान, मुढा बुन्ने काम हुन्छ, मासिक १छ हजार आमदानी भइरेको छ,’उनले भने ।

karagar (2) copy

कैदीबन्दीले ढाकाका टोपीमात्रै मासिक ७ सय वटा बढी बुनेर विक्री गर्ने गरेका छन् । कैदीले बुनेका टोपी लगायत सामाग्रीहरु कार्यालय सहयोगी मार्फत बजारसम्म पु¥याउने र विक्री गरेर ल्याइदिने व्यवस्था गरिएको जेलर प्रभात घिमिरेले बताए । उनका अनुसार यसले कैदीहरुलाई समय कटाउन सहज हुने र सीपको पनि विकास भएको छ । ‘पछि घर फर्केर समाजमा पुर्नस्थापित हुन पनि सहज बन्छ,’जेलर घिमिरेल भने,‘हातमा सीप भएपछि समाजमा गरिखान पनि सक्छन् ।’

कैदीले बुनेका टोपी प्रतिगोटा २ सयदेखि ५ सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । साँघुरो कारागार भवनमा एकसाथ ३५ जना बढी कैदीबन्दीले ढाका टोपी बुन्ने तान लगाएका छन् । कारागारमा हाल ८५ जना पुरुष र ५ जना महिला कैदीबन्दी र थुनुवा रहेका छन् ।