धरान: लिम्बू जातिभित्र अहिले धर्मको बसह चर्किएको छ । लिम्बू जातिको मौलिक धर्म किरात धर्म अर्थात सत्यहाङ्मा हो कि युमा हो ? यो बहस लिम्बू जातिभित्र चर्कोरुपमा भइरहेको छ ।

गत बर्ष बैशाखमा धरानमा युमा साम्यो महासभाले ३ दिने युमा साम्यो(धर्म)बारे अन्र्तराष्ट्रिय सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा वरिष्ठ साहित्यकार एवं मुन्धुमविद् वैरागी काइलाले लिम्बूहरुको धर्म युमा नै भएको भन्ने अभिव्यक्ति दिएका थिए । जसले लिम्बू जातिभित्र चर्को विवादसँगै चर्चा पायो । सामाजिक सञ्जालहरुमा उनको सामर्थन र आलोचना गर्नेहरु उतिकै संख्यामा थिए । लारुम्बामा रहेको किरात धर्मगुरु आत्मनन्दका अनुयायीहरु र युमा साम्योका अनुयायीहरुबीच अहिले पनि सामाजिक सञ्जालमा अघोषित शितयुद्ध चलिरहेकै छ ।

Untitled-2 copy 2

युमा साम्यो महासभाले लिम्बूहरुको सँस्कार र धर्म दुवै युमा भएको दाबी गर्छ । युमा लिम्बूहरुको कुलदेवी हुन् । विगतमा लिम्बूहरुको परम्परादेखि चलिआएको सँस्कार, संस्कृति चलाउथे तर धर्म जुनसुकै पनि अपनाउथे । अब भने संस्कार पनि आफ्नै र धर्म पनि आफ्नै बनाउने अभियानमा छ, युमा साम्यो महासभा । यही अभियानमा महासभाले बिहिबारदेखि पुनः धरानको हरियाली वन समुहमा ३ दिने युमा मुन्धुम, धर्म र दर्शन बिषयक दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

यो सम्मेलनले युमा धर्मको आचारसंहिता तयार पार्ने महासभाका अध्यक्ष देवेन्द्र वनेमले बताए । परापुर्वकालदेखि लिम्बुहरुले मान्दै आएको धर्म युमा भएपनि औपचारिकरुपमा घोषणा नगरिएको उनको भनाई छ । ‘गत बर्षदेखि हामीले युमा नै लिम्बुहरुको धर्म हो भनेर अघि बढेका छौ । यसपाली हाम्रो संस्कार, धर्म संरक्षणको लागि पेगी फाङ्साम, तुत्तुतुम्याङ, याक्लासुहाङहरुको उपस्थितिमा आचार सहिता बनाउदैछौ,’उनले भने ।

फाल्गुनन्दले लिम्बुहरुमा फाटो ल्याए

IMG_20190110_152612 copy

महासभाका अध्यक्ष वनेमले लिम्बु जातिमा फाल्गुनन्दले वि.स.१९८८ सालमा धार्मिक मुचुल्का बनाएर फाटो ल्याएको पनि बताए । त्यसबेला सत्यहाङ्मा धर्मलाई ९० प्रतिशत लिम्बूहरुले स्वीकार नगरेको उनको दाबी छ । साम्बा, फेदाङ्माहरुले नै लिम्बु जातिको मौलिक, सँस्कार फलाक्दै अहिलेसम्म जिवित राखेको पनि उनले बताए । ‘हिन्दु सँस्कार बोकेको सत्यहाङमा धर्मले १९८८ देखि लिम्बुहरुलाई विभाजन गरे, तर सम्बा, फेदाङ्मा, येबाहरुले नै लिम्बूहरुको सँस्कारलाई अहिलेसम्म जोगाएका छन्,’अध्यक्ष वनेमले भने ।

लिम्बू सँस्कार जोगाउन युमा धर्म

IMG_20190110_150844 copy

मुन्धुम तथा दर्शनका अध्ययेता एवं लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ लिम्बु जातिको संस्कारलाई लोप हुन नदिनको लागि पनि युमा धर्म मान्नुपर्ने अवस्था आएको बताउँछन् । हिजोसम्म लिम्बुहरुले आफ्नै संस्कार गरेपनि धर्म जुनसुकै मान्ने छुट थियो । तर, त्यसो गर्दा विस्तारै आफ्नो मौलिक संस्कार पनि लोप हुदै गएपछि धर्म पनि आफ्नै बनाउनुपर्ने बाध्यता आएको उनले बताए । ‘हिजोको परम्परा, संस्कार,सँस्कृतिलाई नै अब धर्मको रुप दिन्छौ । कुलदेवी युमालाई नै धर्म मानेर जानुपर्ने अवस्था बन्यो,’युमा साम्यो महासभाका सल्लाहकारसमेत रहेका उनले भने,‘सम्मेलनबाट जारी हुने आचारसंहिताले लिम्बुहरुलाई बाँध्ने काम गर्छ ।’

तीन दिने सम्मेलनले लिम्बूहरुले मान्दै आएको धर्म, सस्ँकार, सँस्कृति, प्रथाहरुलाई पुर्नताजगी गर्ने र अभिलेखिकरण पनि गर्ने उनले बताए । बिहिबार सम्मेलनको उद्घाटनसँगै तङसिङ गरिएको थियो । शुक्रबार आचारसंहिताबारे छलफल हुने र शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने महासभाले जनाएको छ ।

IMG_20190110_141208 copy IMG_20190110_141234 copy