तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन दुग्ध उत्पादन सहकारी संस्थाले कुराउनी उत्पादन गर्न थालेको छ । सहकारीले किसानबाट दैनिक संकलन हुने दुधको खपत् सुनिश्चित गर्न कुराउनी मेसिन जडान गरी उत्पादन थालेको हो ।

m 3

सुर्केस्थित ९० बढी किसान परिवारले दुध उत्पादन गरेर सहकारीमार्फत म्याङलुङ बजारमा विक्री गर्दै आएका थिए । हाल सहकारीमा दैनिक पाँच सय लिटर दुध संकलन हुने गरेको छ । त्यसमध्ये ३ सय लिटर दुध मात्रै बजारमा खपत् हुन्छ । बाँकी दुधको खपत् गर्न कुराउनी उत्पादन थालिएको अध्यक्ष पहलमान तिम्सीनाले बताए । मेसिन जडान भएपछि सहकारीमा जम्मा भएको दुध खेर नजाने स्थानीय विजेश भटराईले बताए ।
सहकारीले म्याङलुङ नगरपालिकाको १ लाख ९० हजार रुपैयाँ सहयोगमा मेसिन खरिद गरी कुराउनी उत्पादन थालेको हो । उत्पादित कुराउनीको बजारका लागि कुनै समस्या छैन । स्थानीय बजारमै कुराउनी प्रति केजी ५ सय रुपैयाँले खरिद विक्री हुने गरेको छ । कुराउनी उत्पादन सुरु भएपछि किसानले दुध उत्पादन समेत बढाउने बताएका छन् ।