इटहरी:सामाजिक अभियन्ता, प्रध्यापक एवम् सञ्चारकर्मी कृष्णकला राईको पहलमा इटहरी ७ बज्राहामा निर्माण भएको घर कुष्ठरोगी लालचन सदालाई शुक्रबार हस्तान्तरण गरिएको छ ।

‘हामी छौँ हाम्रो पाइला, तपाईको लागी’ भन्ने सन्देशका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत उक्त घर निर्माण गरि शुक्रबार एक कार्यक्रमको आयोजना गरि पीडित सदालाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस इटहरी नगर समिति हेमकर्ण पौडेल, उपसभापति शिब दाहाल, स्थानीय जनप्रतिनिधि जीरा चौधरी, अग्रज पत्रकार याम प्रधान र अभियन्ता कृष्णकला राईले संयुक्त रुपमा चाबी हस्तान्तरण गरेका थिए ।

घर पाएपछि लालचन सदाको परिवार खुशी भएको छ । ‘मैले बाँचुन्जेल कहिल्यै आँफूलाई कसैले यस्तो राम्रो काम गर्छ भनेर सोचेको थिईन’ सदाले आँखाभरी आँशु पार्दै भने, ‘म निकै खुशी छु, मैले काम गर्न नसकेपनि अरुले आफ्नो लागि काम गर्दा...’ उनी बोल्न सकेनन् । दुई छोरा, एक छोरी र श्रीमती सहित सदाको परिवारमा पाँचजना रहेका छन् । कार्यक्रमका बोल्दै जनप्रतिनिधि चौधरीले अति विपन्न परिवार रहेका सदाको घर निर्माण व्यक्तिगत रुपमा निर्माण गर्नु सराहनीय रहेको बताउँदै भनिन्, ‘यो घर परिवारलाई दुई गाँस जोड्नै मुस्किल हुन्छ, व्यक्तिगत रुपमा घर बनाउँनु निकै खुशीको कुरा हो ।’

20190111_114910 copy

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता पौडेलले भने राज्य क्षेत्रले पनि गरिब, विपन्न बर्गका लागि काम गर्न नसकिरहेको बेला निजी क्षेत्रबाट सहयोग गर्नु अनुकरणीय रहेको बताए । ‘राज्यले काम गर्न नसकिरहेको बेला निजी क्षेत्रबाट सहयोग गर्नु अमूल्यवान छ,’ उनले भने, ‘वीपी कोइरालाले भनेजस्तै मानिस आफ्नो लागि बाँच्नु भन्दा पनि अरुको लागि बाँच्ने प्रयत्न गर्नु अनुकरणीय हो ।’ उनले वीपी कोइरालाको उदाहरण दिदैँ मानिसले आफ्नो लागि मात्र नभई समाजको हितको निम्ति काम गर्नु अमूल्य रहने बताए ।

देश, बिदेशबाट सहयोग उठाएर घर निर्माण गरिएको अभियन्ता कृष्णकला राईले बताईन् । ‘समाजमा आवश्यकीय कुराको महसुस गरि घर निर्माण गरिएको हो,’उनले भनिन्, ‘आफ्नै वरिपरी रहेको समस्यालाई समाधान गर्नु नै मेरो प्रथम उदेश्य हो ।’ सानो सहयोगले नै ठूलो काम गर्न सकिने बताउँदै राईले भनिन्,‘यो ठाउँमा कुष्ठरोगी, अशक्त भएकाले यहाँ घर निर्माण गरेकी हुँ, यसअघि बक्लौरीमा पनि मैले निसन्तान बृद्धहरुलाई घर निर्माण गरेकी थिएँ ।’ घर निर्माण गर्नका लागि एक लाख ३४ हजार तीन सय १५ रुपैँया लागत लागेको बताउँदै उनले अरु दश हजार रुपैँया सहयोग रकमबाट उब्रिएकाले त्यो रकम समेत अन्य पीडित मानिसहरुलाई सहयोग गर्ने बताईन् । सोही कार्यक्रमको अवसर पारेर स्थानिय कमलबाबु मैनालीले सदा परिवारलाई सिरक डस्ना हास्तान्तरण गरेका थिए ।

a copy