धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई वर्षअघि महासागरमा नेपाली झण्डा फरर्फराउदै पानीजहाज चलाउने घोषणा गरेका थिए । त्यसबेला उनको बोलीलाई सबैले मजाककोरुपमा लिएर उडाए । अहिले पनि उनको त्यो बोली पत्याउने नेपालीहरु छैनन् ।
 
समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले मूर्त रूप लिन्छ की लिदैन, त्यो भविष्यले बताउला । तर नेपालको सप्तकोशी नदीमा भने निजी क्षेत्रबाट नेपाली झण्डा फहराउदै साना पानीजहाज (जेट बोट) धमाधम सञ्चालन गर्न थालेका छन् । भर्खरै मात्र ‘बराहक्षेत्र मेरिन रिसोर्ट प्रालि’ले २५ जना क्षमताको नयाँ जहाज ल्याएको छ । उक्त जहाजमा नेपाली राष्ट्रिय झण्डा फहराउछ । चाइनिज प्राविधिकले सप्तकोशीमा परीक्षणकारूपमा जहाज चलाइरहेका छन् । प्रालिले एक सय यात्रु अट्ने ठूलो जहाज र १० जना क्षमताको साना जहाज ल्याउन लागेको प्रालिले जनाएको छ ।
 
panijahaj4_20190109104731 copy
 
सञ्चालक नवीन पौड्यालका अनुसार अहिले प्रालिले चार वटा जहाज चलाउन मिल्ने गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाइरहेको छ। प्रालिले चार वटा जहाज ल्याउन र कोसी टापुमा रिसोर्ट बनाउन गरी जम्मा करिब ८ करोड १२ लाख रुपैयाँको लगानी गरेको सञ्चालक पौड्यालको भनाई छ । उनले भने, ‘विपदमा परेकालाई र तत्कालै अस्पताल लैजानुपर्ने बिरामी, सुत्केरीलाई निःशुल्क सेवा दिनेछौँ।’
 
panijahaj3_20190109104638 copy
यसअघि ‘बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि’ले २०७४ चैत १९देखि कियान नामको एउटा जहाज चलाइरहेको छ। जहाजले चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई सेवा दिइरहेको छ । सप्तकोशीमा नेपाल रिभर ट्रान्सपोर्ट र वरुण वाटरवेजले २०५५ सालदेखि नै जेटबोट सञ्चालन थालेको थियो। बीचमा दक्ष चालक अभाव र विभिन्न समस्याले बन्द भएको बोट अहिले पुनः सञ्चालनमा छ । हालसम्म सुनसरीको चतराघाटबाट मात्र जहाज चलिरहेका छन्। तर, अब उदयपुरतर्फ पनि व्यवसायीले जहाज चलाउने तयारी गरिरहेका छन् । तस्बिर सौजन्य: गोपाल दाहाल