मोरङ्: आफ्नो ठाउँको पहिचान तथा पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले मोरङ्ग जिल्लाको उत्तरी क्षेत्र केराबारीमा ऐतिहासिक मच्छिन्द्रनाथ मेला शुरु भएको छ ।

केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले शुक्रबार एक समारोहबीच मेलाको उद्घाटन गरेका थिए । अध्यक्ष कार्कीले मेलास्थलमा बनाइएको मूल प्रवेशद्वारको रिवन काटेर उद्घाटन गरे भने औपचारिक कार्यक्रम शुरु भएपछि पानसमा बत्ती बाल्नुका साथै मेलाको मूल ब्यानर अनाबरण पनि गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले केराबारीको पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्दै साँस्कृति पक्षहरुको पनि जर्गेना गर्ने बताए ।

मेलाबाट संकलित रकमबाट केराबारी ८ मा निर्माण भईरहेको ज्येष्ठ नागरिक चौतारीलाई सहयोग गर्ने मेला मूल आयोजक समिति संयोजक टंक लिम्बूले जानकारी दिए । साथै उनले केराबारी १० मा निर्माणाधिन शवदाह स्थललाई पनि सहयोग गरिने बताए । वडा ८ का अध्यक्ष मनोज खड्काले केराबारीलाई पर्यटकीय गाउँपालिकाको रुपमा बिकास गर्न आफूहरु लागि परेको धारणा राखे ।मच्छिन्द्र माविको खेल मैदानमा मेला शुरु भएको हो । मेला माघ ३ गतेसम्म मेला आयोजना हुनेछ ।

मेलामा स्थानीय कृषि उत्पादनको बिक्री एवं प्रदर्शनीदेखि लिएर बिविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने मच्छिन्द्रनाथ मेला आयोजक समितिले जनाएको छ । उद्घाटन अवसरमा च्याब्रुङ्ग नाच, लाखेनाच, हुर्रा नाचसहितको झाँकीले केराबारी बजार परिक्रमा गरेको थियो । केराबारीका बिभिन्न सामाजिक संघ, संस्था, शैक्षिक संस्थाहरु र्यालीमा सहभागी थिए । ऐतिहासिकरुपमा सञ्चालन हुँदै आएको मेला सशस्त्र संघर्षको समयमा स्थगित भएको थियो । तीन बर्षदेखि पुनः लाग्न थालेको हो । मेलामा कलाकारहरु दिपक लिम्बु, तारा प्रकाश लिम्बू, ज्योति मगर, निशान भट्टराई, कमल खत्री, तृष्णा गुरुङ्ग, मनिष लिम्बूलगायत कलाकारहरुको प्रस्तुती पनि दिने आयोजकले जनाएको छ ।