धरान: नेपाल सरकारले गौरवको आयोजनाकोरुपमा अघि बढाएको २२० केभी प्रसारण लाइन(हाइन्टेन्सन)मा अवरोध पुगेपछि स्थानीयस्तरको समस्या बुझ्न र छलफल गर्न प्रदेश नं १ का मुख्यमन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक आज धरान आउदैछन् ।

मुख्यमन्त्री शेरधन राई र निर्देशक कुलमान घिसिङ धरान आउने भएका हुन् । उनीहरुसँगै उर्जा मन्त्री बर्षमान पुन पनि आउने भनिएको थियो । तर, मन्त्री पुनले यो बिषयमा बुझ्न मुख्यमन्त्री राई र कार्यकारी निर्देशक घिसिङलाई नै जिम्मा दिएका छन् । मुख्यमन्त्री राई र घिसिङले हाइटेन्सनबाट अतिप्रभावित भनिएको धरानको वडा नं २० को स्थलगत निरीक्षण गर्नेछन् । दुवैले स्थलगतरुपमा निरीक्षण र स्थानीयको भावना बुझेपछि नगरपालिकामा आएर छलफल गर्ने कार्यक्रम तय भएको छ ।

20181117_162453 copy

मुख्यमन्त्री राई र कार्यकारी निर्देशक घिसिङ शुरुमा माछामारा डाँडास्थित गोर्खा स्मृति पार्क हुदै प्रभावित क्षेत्रबाट चिण्डे डाँडा पनि पुग्नेछन् । ‘स्थलगत अवस्था के हो ? नगरपालिकाले उठाएको प्रश्न सही हो कि होइन भनेर उहाँहरु आफै स्थलगत गएर बुझ्नुहुनेछ,’धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सवेदीले भनिन्,‘गौरवको आयोजना हो, तर किन विरोध भइरहेको छ भन्ने लाग्या छ । त्यसैले उहाँहरु आफै स्थलगत बुझ्ने र नगरपालिकामा आएर छलफल पनि हुन्छ ।’

स्थानीयबासीले आफुहरु प्रभावित हुने भन्दै हाइटेन्सनको टावर निर्माणमा रोक लगाएका छन् । यस्तै, उपमहानगरपालिकाले पनि प्रस्तावित एयरपोर्ट, पर्यटन र पुर्वाधार विकासमा गम्भीर धक्का लाग्ने भन्दै एलाइमेन्ट परिवर्तन गर्न प्राधिकरण र उर्जा मन्त्रालयमा आग्रह गर्दै पत्राचार गरेको थियो । यो बिषयमा धरानका राजनीतिक दलहरुले पनि स्थानान्तरण गरेर लैजानुपर्ने धारणा बनाएको छ ।