लेटाङ : मोरंगको लेटाङस्थित राजारानीमा शान्तीधाम बन्ने भएको छ । धाममा ५ धर्मको एउटै गन्तव्य बनाइने छ ।

नेपालका मुख्य धर्महरू हिन्दू, बौद्ध, मुस्लिम, इस्लाम र किरात धर्माबलम्वीको फरक–फरक बाटो र ढोका सहितको एक भव्य संरचना निर्माण गरिने भएको छ । संरचनाको परिकल्पनाकार विक्रम श्रि ले ३ वटा तह रहने संरचनामा शुरूको तहमा प्रत्येक ५ धर्मका छुट्टाछुट्टै १–१ वटा बाटो रहने बताए ।

उनले जुनसुकै धर्मका लागि उक्त धाम आस्थाको केन्द्र बन्ने बताए । उनले आ–आफ्नो धर्म अनुसारका प्रणाम, योग, ध्यान, प्रार्थना गर्ने व्यवस्था गरिने गरीने बताए । राजारानी आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ हो । ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति पाइने उक्त ठाउँमा धाम बनेपछि थप महत्व पाउने विश्वास गरिएको छ ।

धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । राजारानी क्षेत्रमा ३ वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका २ वटा मन्दिर छन् । सो क्षेत्रमा धेरै प्रकारका सुनाखरी पाइने स्थानिय बताउछ्न । यहाँ हरेक वर्षको बैशाख २ गते धिमालहरुको मेला लाग्ने गर्छ ।