धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिसँग जोडिएको गौरवको आयोजना भएकोले २२० केभी प्रसारण लाइनमा कुनै वाधा, अवरोध नपुर्याउन आग्रह गरेका छन् ।

आयोजनाले प्रभावित पर्ने भनिएको धरानको वडा नं २० साविक विष्णुपादुका क्षेत्रको दिनभरजसो स्थलगत अवलोकन गरेका मुख्यमन्त्री राईले आयोजनालाई सहयोग पुर्याउन आग्रह गर्दै त्यस ठाउँको विकासमा प्रदेश सरकारले बिशेष ध्यान पुर्याउने पनि बताए । वडाबासीले आफुहरुलाई असर पर्ने भन्दै गत कार्तिक अन्तिम सातादेखि आयोजनाको काम रोकेपछि प्रदेश सरकारले चासो दिदै मुख्यमन्त्रीसहितको टोली शनिबार जनगुनासोबारे बुझ्न विष्णुपादुका क्षेत्र पुगेका थिए ।

‘यो आयोजना देशकै महत्वपुर्ण र प्राथमिकतामा परेको आयोजना हो, देशको अर्थतन्त्र, विकास र समृद्धिलाई माथि उठाउने आयोजना हो, त्यसैले सबैको सहयोग हुनुपर्छ,’मुख्यमन्त्री राईले भने,‘मैले स्थलगत निरीक्षण गर्दा वस्ती छरिएर रहेको देखे । वस्तीलाई एकीकृत बनाउ, यही तल स्थानीय सरकार छ, प्रदेश सरकार छ, एकीकृतरुपमा कल्चरल भिलेज बनाऔ । हामी सहयोग गर्न तयार छौ ।’

IMG_9482 copy

मुख्यमन्त्री राईले विष्णुपादुकाको भञ्ज्याङ जोड्न सर्दु खोलमा पुल बनिरहेको, चिण्डे डाँडा केही मास्तिर टोड्केमा भ्यु टावरलाई बजेट विनियोजन गरिसकेको भन्दै अब सडक, विद्यालय र जनताको जनजिविकासँग जोडिएको बिषयमा पनि प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने बताए । ‘यो समस्या हल गर्न म सहजकर्ताको भुमिकामा रहन तयार छुँ । यो ठाउँको विकास कसरी गर्ने ? अधिकतम लाभ कसरी लिने भन्नेतर्फ सोच्नुपर्छ,’मुख्यमन्त्री राईले भने,‘प्रदेश सरकारले आवश्यक योजना, कार्यक्रम ल्याउछ । यहाँको बाटो पक्की गर्ने, विद्यालयको अवस्था, सेवा, सुरक्षा र जनजिविकोपार्जनमा सहयोग गछौ ।’ मुख्यमन्त्री राईले धरानबाट भञ्ज्याङ हुदै चिण्डे डाँडा पुग्ने बाटोलाई रिंगरोडकोरुपमा पनि विकास गर्नुपर्ने बताए ।

IMG_9417 copy 1