धरान: नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कोशी कोरिडर २२० केभिए प्रसारण लाइनमा अवरोध नगर्न आग्रह गर्दै विकल्पमा आयोजनाले धरानको विकासमा गर्नुपर्ने सहयोगतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

प्रभावित क्षेत्रका जनगुनासो सुन्न शनिबार धरान आएका प्रबन्ध निर्देशक घिसिङले प्रसारण लाइन अभिषाप नभै विकासको सम्भावना पनि बोकेर आउने बताए । उनले धरानलाई अहिलेको विजुली पुग्दो नभएको भन्दै आयोजनामार्फत नै एउटा सब स्टेशन निर्माण गरेर सय मेघावाट विजुली दिने प्रस्ताव पनि गरे । ‘बाधा, विरोधले देशकै महत्वपुर्ण आयोजनालाई पछि धकेल्छ, यसले मुलुकको समृद्धि र विकासलाई असर पर्छ,’घिसि ङले भने,‘म धरान आउदै गर्दा हेरे, यहाँ थप विजुली ल्याउने अर्को लाइन छैन । धरानको माग पुगिरहेको छैन, बरु धरानमा एउटा ठुलो सब स्टेशन बनाएर सय मेघावाट विजुली दिनसक्छौ । यसले यहाँ ठुला उद्योग, आयोजनाहरु आउछ । चौबिसै घण्टा विजुली सप्लाइ हुन्छ ।’

kulman IMG_9476 copy

सय मेघावाट विजुली भएको ठाउँमा ठुला उद्योग, कलकारखाना र लगानीकर्ताहरु पनि आउने घिसिङको भनाई थियो । उनले आयोजनाले कसैलाई विस्थापित गरेको भए क्षतिपूर्ति दिनेबारे खुलारुपमा छलफल गर्न पनि तयार रहेको बताए । प्रसारण लाइन उत्पादन भएको उर्जा(विद्युत)को बाटो भएकोले यो नभएकै कारण प्रदेश न. १ मा उत्पादन भएको र हुने चरणमा रहेको उर्जा खेर गइरहेको पनि उनले बताए । जसले गर्दा मुलुकले भने उर्जा संकट भोग्नुपरिरहेको घिसिङको भनाई थियो । ‘अहिले पुर्वमा जलविद्युतमा लगानीकर्ताहरु आइरहेका छन्, कुनै पनि नदीहरु खाली छैन, जलविद्युतको काम धमाधम भइरहेको छ,’घिसिङले भने,‘यसको मुख्य कारण नै यही प्रसारण लाइन बन्दै गरेकोले हो । यो उर्जा खपत गराउने बाटो हो, त्यसैले प्रसारण लाइन नहुदासम्म लगानी नै आउदैन । उर्जाको क्षेत्रमा प्रसारण लाइन नै सबैभन्दा महत्वपुर्ण पक्ष हो ।’

प्रसारण लाइनबाट कुनै पनि किसिमको मानवीय वा स्वास्थ्यमा, खेतबारीमा असर नपुग्ने पनि उनले बताए । ‘१० वटा टावर डाइभर्ट गर्छु भनेर हुदैन, त्यसको लागि सबै डाइभर्ट गर्नुपर्छ । त्यसैले यो सम्भावना नै छैन । यस्तो समस्या त देशैभरि छ, एक ठाउँमा डाइभर्ट हुदा देशैभरि गर्नुपर्ने हुनसक्छ,’उनले भने ।