सुनसरी: भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले देशमा सुकुम्वासी नरहने दावी गरेकी छिन् । फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको छैटौ बार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन् ।

उनले सुकुम्वासी समस्या समाधान सम्बन्धी विधेयक संसदमा पेश भइसकेकाले पारित भएपछि शक्तिशाली सुकुम्बासी समस्या समाधान आयोग बनाइने बताइन् । फिल्डबाटै जग्गा धनीपूर्जा दिन सक्ने अधिकार सम्पन्न आयोग बनाइने उनले बताइन् । 'अबको हाम्रो लडाई गरिवीसँग हो, यो लडाइमा श्रेष्ठता हासिल गर्नुपर्ने हुन्छ,'मन्त्री अर्यालले भनिन् । फरवार्डले गाँउगाँउका लाखौ महिलालाई आर्थिकरुपमा सवल बनाउने अभियान चलाएको भन्दै मन्त्री अर्यालले प्रसंसा पनि गरिन् । उनले भनिन्,'२ लाख ३३ हजार महिलालाई संगठित गरेर आर्थिक स्वबलम्बनको बाटोतर्फ अग्रसर गराउनु चानचुने कुरा होइन।'

कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले २ लाख ३३ हजार गरीव महिलाको घर घरमा पुगेर आर्थिक सवलीकरणका लागि फरवार्डले वित्तिय कार्यक्रम संचालन गरेको बताइन् । अध्यक्ष चौधरीले आफ्नो संस्थाको ८ अर्व ५० करोड बराबरको कारोबार र ३८ करोड मुनाफा भएको प्रतिवेदन प्रस्तुत गरिन् । उनले महिला दिदीबहिनी वित्तियरुपमा सवल बनेपछि महिला हिंसा स्वत कम हुने पनि दाबी गरिन् । कार्यक्रमलाई सस्थाका सञ्चालकहरु सविता दाहाल,केशवराज शर्मा,पूर्व सांसद शारदा कुमाल,प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरी लगायतले सम्वोधन गरेका थिए । विभिन्न ३७ जिल्लामा कार्यक्षेत्र रहेको घ वर्गको संस्थाको देशभर १ सय १३ शाखा रहेको छ ।