सिक्किम : मुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले शनिबार एक परिवार एक नोकरी योजनाअन्तर्गत राज्यका १२ हजार  युवालाई नोकरी प्रदान गरेको छ ।

नोकरी हात हातमा दिनका लागि एसडीएफ सरकारले गान्तोकको पाल्जर स्टेडियममा रोजगार मेला नै लगाएको थियो । सो मेलामा राज्यका चारै जिल्लाबाट हजारौँको सङ्ख्यामा युवाहरू सहभागी भएका थिए । सरकारले ‘एक परिवार एक नोकरी योजना’ अन्तर्गत २० हजार युवालाई नोकरी दिने घोषणा यसअघि नै गरेको थियो । यसै घोषणा अन्तर्गत पुष गत्ते सिक्किमका १२ हजार युवालाई नोकरी प्रदान गरिएको हो ।

rojgar

मुख्यमन्त्री चामलिङले सरकारले रात दिन खट्दा पनि केवल १२ हजार युवाका लागि मात्र नियुक्ति–पत्र तयार गर्न सकेको बताए । उनका अनुसार, आगामी केही दिनभित्र बाँकी ८ हजार युवालाई सरकारले नियुक्ति पत्र दिइनेछ । चाम्लिङले भने, ‘यो रोजगार मेला विश्वको पहिलो हो । यसभन्दा अघि विश्वमा कहीँकतै पनि यस्तो रोजगार मेला भएको थिएन । हामी जनतालाई धन्यवाद दिन्छौँ, आज यो जुन काम भयो, त्यो सिक्किमेली जनताका लागि ऐतिहासिक हो ।’

रोजगार मेलालाई सम्बोधन गर्दै उनले सिक्किम अहिले विश्वमा नै उदाहरणीय राज्य बनेको दाबी गरे। उनले सिक्किम र सिक्किमेली जनताका हित, सुरक्षा र समृद्धिका लागि जस्तै कठिनाइ बेहोर्नपनि आफू तयार रहेको बताए । चामलिङका अनुसार २० हजार बेरोजगार युवाले नोकरी पाएपछि सिक्किममा नोकरी गर्नेहरूको सङ्ख्या एक लाख पुग्नेछ । अहिले सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको सङ्ख्या ८० हजार छ ।

pawan chamling

अहिले अस्थायी रूपमा काम गर्ने सबै कर्मचारीहरूलाई पाँच वर्षपछि स्थायी गरिने पनि चामलिङले बताए ।
मुख्यमन्त्री चामलिङले सो अवसरमा राज्यका कृषिसम्बन्धित सबै ऋण माफी गरिदिने घोषणा पनि गरेका छन्। उल्लेखनीय छ, एसडीएफ सरकारले यसअघि नै राज्यका कृषकहरूलाई कृषि पेन्सन दिने योजना शुरु गरिसकेको छ।

राज्यका पचास वर्ष नाघेका कृषकहरूलाई प्रति महिना एक हजार रुपैयाँ कृषि पेन्सन सरकारले उपलब्ध गराउँदै आएको छ ।