ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “नाम सहकारी, काम हुण्डी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –

विराटनगर महानगरपालिका क्षेत्रमा सहकारीको आडमा हुण्डीको कारोबार हुने गरेको खुलेको छ । मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने विराटनगर ७ स्थित आस्था नेपाल बहुउद्देश्य शहकारी संस्थाका अध्यक्ष राजेश हेडा र विजय कुमार कर्णसहित तीन जनालाई आइतबार पक्राउ गरेको हो । प्रहरीले सहकारी अध्यक्ष विराटनगर ७ का हेडासहित व्यवस्थापक कर्ण, विराटनगर ११ का सुमित साहलाई पक्राउ गरेको छ । पैसाको श्रोत खुलाउन नसकेपछि अध्यक्ष र व्यवस्थापकसहित ६९ लाख ५७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । बरामद गरेको अवैध पैसा हुण्डी कारोबार गर्ने गरेको स्वयम् सहकारीका अध्यक्ष हेडाले स्वीकारेका छन् , एसपी केसीले भने, ‘बरामद भएको नेपाली रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरेको हो ।’ पक्राउ परेका मध्ये हुण्डीको कारोबार गर्ने मुख्य व्यक्ति राजेश रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उदघोष दैनिकले “कर असुली प्रदेश सरकारलाई चुनौती” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –

करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश १ को सरकारलाई लक्ष्य अनुसारको बजेट श्रोत जुटाउनु चुनौती भएको छ । प्रदेश सरकारको ढुकुटीमा चालु आर्थिक वर्षको ५ महिनामा राजश्व तथा अनुदान प्राप्ति अनुमानको २० प्रतिशत मात्रै प्राप्त भएको हो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत असार १ गत्ते ३५ अर्ब ९३ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको पूर्ण बजेट ल्याएका थिए । उक्त बजेट असार १३ गत्ते बसेको प्रदेश संसदको अधिवेशनले पारित गरेको थियो । प्रदेश सरकारलाई अबको बाँकी ६ महिनाभित्र बजेटको ८० प्रतिशत श्रोत जम्मा गर्न दवाव बढेको छ । अहिलेसम्मको न्यून आय प्रगतीले बजेट कार्यान्वयनमा समेत गम्भीर असर पर्नसक्ने देखिएको हो । सात वटा प्रदेश मध्ये सबैभन्दा ठुलो आकारको बजेट १ नम्बर प्रदेश सरकारले ल्याएको थियो । त्यतिबेला अर्थमन्त्री आङ्बोले जसरी पनि अरु प्रदेशको भन्दा ठुलो बजेट ल्याउने घोषणा गरेका थिए । तर बजेटको अनुसूची २ को राजश्व तथा अनुदान प्राप्तिको अनुमान बमोजिमका शीर्षकमा आधा आर्थिक वर्ष बित्न लाग्दा झिनो प्रगति देखिएको छ । अधिकांस कर तथा गैरकरका शीर्षकका आम्दानी शुन्य देखिएको छ भने प्रदेश सरकारलाई विभिन्न प्रकारका दण्ड जरिवानाबाट प्राप्त हुने आमदानीमा समेत अहिलेसम्म शुन्य प्रगति नै रहेको छ ।

फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “माघे संक्रान्तिका उपभोग्य वस्तुको मागसंगै मूल्य पनि बढ्दै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –

माघे संक्रान्ति अर्थात् तिला संक्रान्ति नजिकिरहेको समयमा संक्रान्तिका लागि आवश्यक पर्ने तिल, सख्खर लगायतका वस्तुहरुको विक्रीवितरण पूर्वी तराइमा बढेको छ । माघे संक्रान्तिलाई लक्षित गरी सख्खर, तिल, तरुल र अन्य उपभोग्य वस्तु बिक्रिवितरणले बजार पाउन थालेको हो । पूर्वी नेपालका बजारहरुमा पछिल्लो समयमा सख्खर, तिल, भुजा, तरुल लगायतका सामानहरुको बिक्री वितरण बढेको छ । माघे संक्रान्तिमा प्रयोग हुने सामाग्रीहरुको बजारमा माग बढेपछि मूल्य पनि आकासिन थालेको छ । अन्य समयको तुलनामा अहिले सख्खर, तिल, तरुल लगायतको मूल्य बढेको पाइन्छ ।