अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा चार सय गोलको कीर्तिमान राखेका छन् ।

गएराति भएको खेलमा आइबारविरुद्ध गोल गर्दै मेस्सीले खेल करियरमा अर्को कोसेढुंगा पार गरे । खेलमा आईबार ३–० ले पराजित भयो । मेस्सी ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय गोलको कीर्तिमान बनाउन ४ सय ३५ खेल खेलेका छन् ।युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् ।

युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन् ।

रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका छन् ।

ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता लिएको छ । उसको १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ ।

एट्लेटिकोले गएराति लेभान्तेलाई १–० ले हराउँदा तेस्रो स्थानको सेभिया भने एथ्लेटिक बिल्बाओसँग २–० ले पराजित भयो ।

–एजेन्सी