धरान: आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको जिल्ला बास्केटवल संघ सुनसरीको टिम र पुर्वीपृतना इटहरीस्थित १ नं राजदल गणको आर्मी टिमबीच मैत्रीपुर्ण बास्केटवल खेल भएको छ ।

धरान १८, डिपोट माविमा आइतबार आयोजित मैत्रीपुर्ण खेलमा ४९–१६ अन्तरले जिल्ला बास्केटवल टिम विजयी भएको हो । खेलमा प्रत्येक क्वार्टरमा जिल्ला टिम र राजदल टिमलें क्रमशः ८–२, १५–७, १३–३ र १३–४ अंक जोडेको थियो । खेलको माध्यमबाट आपसी सम्बन्ध बढाउन र नेपालगञ्जमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मैत्रीपुर्ण खेल आयोजना गरिएको पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले बताए ।

राष्ट्रिय प्रतियोगिताको लागि माघ तेस्रो साता प्रदेश नं १ को टिम छनौट प्रतियोगिता हुने जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले बताए । मैत्रीपुर्ण खेलमा संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, वडा १८ का अध्यक्ष प्रविण राई, नम्बर १ राजदल गणका गणपति विष्णु थापा, बास्केटवल संघ पुर्वकेन्द्रिय सदस्य महेश श्रेष्ठ, संघका सल्लाहकार कृष्णकुमार राईलगायत पनि उपस्थित थिए ।