वीरगञ्ज: दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।

सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किमी छ । परियोजनाअन्तर्गत पाइपबिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

Amlekhgunj-petroleum-pipeline

नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताए । भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करीब चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ ।

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन -आइओसी_को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ । परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ । नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाकाबाट भित्रिने भएकाले पनि पाइपलाइन सञ्चालनमा आएपछि सहज हुने विश्वास लिएको छ ।
–रासस