धरान : माघे सक्रान्ति पर्वको अवसरमा धरानमा तरुल किन्न बजारमा सर्वसाधारणहरुको घुँइचो लागेको छ । विशेष गरेर माघे सक्रान्ति पर्वमा तरुल खाने परम्पराले गर्दा रहेक बर्ष संक्रान्तिअघि यसको व्यापार अत्यधिक हुने गरेको हो ।

धरानको मुख्य तरकारी बजारदेखि चोकसम्म तरुल किनेबेचको भीड लागेको छ । धरानको भानुचोकस्थित सब्जी बजार र धरान–३ को पालिका बजारमा खुद्रा व्यापारीलाई तरुल बेच्न भ्याइनभ्याइ छ । बन तरुल, घर तरुल, सुठुनी, सिमल तरुल, स्कुसको जरा, पिडालुलगायत थोकमा प्रतिकेजी ५० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म किनबेच रहेको कृषि उपज बजार स्थलका व्यापारी लक्ष्मण राय बताउँछन् । घर तरुल प्रतिकेजी १ सय रुपैयाँसम्म विक्री हुँदा बन तरुल प्रतिकेजी २ सय रुपैयाँसम्म विक्री भइरहेको खुद्रा व्यापारी गणेश खड्का बताउँछन् । ‘थोक मै महगो खरीद गर्नुपर्छ,’खुद्रा व्यापारी गणेशले भने,‘खुद्रा ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म विक्री भइरहेको छ ।’

50027952_351379835705078_3314772187579154432_n copy

यो सिजनमा उनले ५० हजार रुपैयाँसम्मको विक्री गर्ने लक्ष्य रहेको सुनाए । यता उपभोक्ताहरु भने तरुलको मुल्य उच्च रहेको बताए । बन तरुल प्रति केजी २ सय रुपैयाँमा खरीद गरेको मोरङ केराबारी गाउँपालिकाका कालीबहादुर राईले बताए । ‘माघे सक्रान्ति तरुल खाने परम्परा भएकोले महंगो भएपनि किन्नु पर्यो, तिलक लाउन भएपनि किन्नै पर्यो नी,’ उनले भने । धरान–१३ की रमादेबी योञ्जनले पनि तरुल महगोमा खरिद गर्नुपरेको सुनाए ।

धरान–१३ स्थित कृषि उपज बजारस्थलमा तरुलजन्य दैनिक १० टन (१० लाख रुपैयाँ बराबर) कारोबार भइरहेको बजार व्यावस्थापक लक्ष्मण भट्टराईले बताए । ‘माघे सक्रान्तिलाई लक्षित गरी दैनिक १० टन विक्री भइरहेको छ,’ बजार व्यावस्थापक भट्टराईले भने,‘भोलीसम्ममा १ सय टन कारोबार हुने अनुमान गरेका छौं ।’

IMG_8636 copy

यसपटक पहाडी क्षेत्रबाट स्कुसको जारा आइरहेकोले यसवर्ष ३ सय मेट्रिकटन कारोबार गर्ने लक्ष्य राखिएको बजारले जनाएको छ । त्यो भनेको करीब ३ करोड रुपैयाँ हो । गतवर्ष २ सय मेट्रिक टनको कारोबार भएको बजारको तथ्याङमा छ । कृषि बजारमा पूर्वी पहाडी भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, संखुवासभा, पाचथर, मोरङ र सुनसरीको उत्तरी भेगबाट तरुलजन्य भित्रीने गरेको बजारले जनाएको छ । पूर्वी पहाडी क्षेत्रबाट आएको तरुलजन्य ३० प्रतिशत यही खपत हुन्छ भने बाँकी पूर्वी तराईका जिल्लाहरुमा पुग्ने गर्दछ ।