धरान: राष्ट्रिय गौरवको आयोजनाकोरुपमा सरकारले अघि बढाएको कोशी कोरिडोर २२० केभिए प्रसारण लाइनबारे धरानमा अवरोध पुगेपछि शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रस्ताव अनुसार स्थलगत समस्या अध्ययन गरी सुझाव दिन एक समिति गठन भएको थियो । उक्त समितिको पहिलो बैठकले सोमबार स्थलगत अध्ययन गरी रिपोर्ट बुझाउन पुनः ४ सदस्यीय प्राविधिक उपसमिति गठन भएको छ ।

समितिका संयोजक एवं सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इनरुवमा बसेको समितिको बैठकले ४ सदस्यीय प्राविधिक उपसमिति गठन गरेको हो । प्रजिअ उप्रेतीका अनुसार रुट परिणत गर्न सम्भव छ कि छैन भन्ने बिषयमा प्राविधिकरुपमा नै हेर्नुपर्ने भएकोले प्राविधिकहरुको उपसमिति गठन गरिएको हो । उपसमितिलाई ३ दिन भित्र रिपोर्ट दिनुपर्ने समय दिइएको उनले बताए । ‘रिपोर्ट आएपछि समितिले आफनो निष्कर्षसहित प्रतिवेदन सरकारलाई दिनेछ,’उनले भने ।

गएको शनिबार ११ सदस्यीय सुझाव समिति गठन गरिएको थियो । समितिमा सरोकारवाला, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, उपमहानगरका इञ्जिनियर, आयोजना र परामर्शदाताको इञ्जिनियर पनि राखिएको थियो । सोमबार गठन भएको उपसमितिमा आयोजनाका एक जना इञ्जिनियर, परामर्शदाताको एक ईञ्जिनियर, धरान उपमहानगरका इञ्जिनियर र प्याराग्लाइडिङका एक पाइलट मात्र छन् । प्रसारण लाइनले आफुहरुलाई असर पर्ने भन्दै साविक विष्णुपादुका(हाल धरान वडा नं २०) का स्थानीयबासीहरुले निर्माण कार्यमा अवरोध गरेका थिए । यस्तै, धरान उपमहानगरपालिकाले पनि उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा पत्राचार गर्दै रुट परिवर्तनको आग्रह गरेको थियो ।