इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार भारतीय टिमलाई हराउँदै प्रदेश नम्वर ५ बिजयी भएको छ ।

इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको हो । २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतीय टिमलाई ४९ दशमलव १ ओभरमा २ सय ३० रनको स्कोरमा अलआउट पार्दै प्रदेश ५ ले २३ रनको जित निकालेको हो । सुरुवाती ओभरमा सम्हालिएको प्रर्दशन गरेको भारतीय टिमका ब्याट्सम्यानहरु लामो सट हिर्काउने प्रयासमा आउट भएका थिए ।

नेपाली बलरलाई कमजोर आँक्दै दबाबमा राख्न खोज्दा भारतीय ब्याट्सम्यानहरु पेविलियनको बाटो रोज्न बाध्य बने । उसका ४ ब्याट्सम्यान बोल्ड आउट भएका थिए । प्रदेश ५ लाई जित दिलाउने क्रममा रुपेश कुर्मी एक्लैले ५ विकेट हत्याए । ७ दशमलव १ ओभर बलिङ गरेका कुर्मीले मात्र २९ रन खर्चिए । भारतीय टिमका तर्फबाट जयचन्द यादवले ४० रनको पारी खेलेका थिए । त्यसैगरी राजेश सिङले ३९ रन जोड्दा उत्कर्श भास्करले ३७ र रिन्कु सिंहावतले ३४ रन बनाए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर ५ ले ४९ दशमलव २ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २ सय ५३ रन जोडेको थियो । टिमकालागि प्रकाश केसीले ४६ रनको पारी खेल्दा सुबेन्डु पाण्डेले ४०, कृष्ण कार्कीले ३८ र सन्दिप सुनारले ३० रन बनाए । भारतीय टिम सुपौलकालागि सिवान्सी राजा,इन्द्रजित पोदार र मयंक पमनानीले समान ३–३ विकेट लिए । खेलको म्यान अफ द म्याच रुपेश कुर्मी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश नम्वर ७ र प्रदेश नम्वर ५ बिच हुने छ ।