धरान: राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोर २२० केभिए प्रसारण लाइन धरानमा अवरोध पुगेपछि गत शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई,सभामुख प्रदिप भण्डारी,निर्वाचित सांसदसहितको छलफलमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले धरानलाई सय मेघावाट विजुली दिने प्रस्ताव गरे । उनले धरानमा आयोजनाको काम हुदा हुदै नै सब स्टेशन बनाएर सय मेघावाट विजुली दिने प्रस्ताव गरेका थिए ।

धरान उपमहानगरपालिका र वडा नं २० का जनताले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् । घिसिङ र प्राधिकरण, आयोजनाका इञ्जिनियरहरु रुट परिवर्तन सम्भव नभएको बताउदै आएका छन् । त्यसैले उनको यो प्रस्ताव धरानेहरुलाई फकाउन वा अल्मलाउन मात्र गरेका त होइनन् ? यस्तै अनुमान र चर्चा पनि छ । तर, आयोजनाको रुट परिवर्तन गर्नुपर्ने माग गरिरहेको स्वयम धरान उपमहानगरपालिका, राजनीतिक दल, उद्योगी र जनप्रतिनिधिहरु भने घिसिङको प्रस्तावले उत्साहित छन् । सय मेघावाट विजुली दिने प्रस्ताव स्वयम प्रबन्ध निर्देशकले गरेको हुनाले सम्भव छ भन्ने उनीहरुको आशा छ ।

धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी यसबिषयमा स्थानीय सरकारले पहल गर्ने बताउँछिन् । ‘धरानलाई विजुली चाहिएको छ, लोडसेडिङ मुक्त बनाउनुपर्नेछ, उहाँले आवश्यकता बुझेरै भन्नु भएको हो,’उनले भनिन्,‘एम.डि.ले नै भन्नुभएपछि पक्कै हुन्छ, आशावादी छुँ ।’ सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले यो प्रस्ताव स्वागत योग्य भए पनि प्रसारण लाइनले धरानको पर्यटनमा पार्ने दीर्घकालीन असरप्रति प्राधिकरणले ध्यान दिनुपर्ने बताए । ‘जनताको ध्यान मोड्न मात्र प्रस्ताव आएको हो कि साँच्चै हो ? यो बिषयमा म उहाँलाई भेटेर फेरी कुरा गर्छु,’सांसद राईले भने,‘औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीति छ, धरानको तीनकुनेमा भएको औद्योगिक क्षेत्रलाई पनि विजुली पुगेको छैन । सय मेघावाट आउनु त ज्यादै राम्रो हो ।’

kulman IMG_9476 copy

सुनसरी उद्योग वाणिज्य संघका उद्योग सचिव महेन्द्र प्रधानले धरानमा कुनै उद्योग वा ठुलो लगानीमा व्यवसाय, होटल खोल्नुपर्दा पानी र उर्जा संकटको चर्को मार खेप्नुपर्छ । तीनकुनेस्थित औद्योगिक क्षेत्र साघुरो भएकोले पानवारीमा विस्तार गर्ने कुरा पनि चलिरहेको छ । ‘सय मेघावाट विजुली धरान पाउदा यहाँ औद्योगिक विकास र विस्तार, पर्यटनमै पनि ठुलो टेवा पुग्छ । विजुली छ भने लगानीकर्ता पनि आउछ,’उद्योग सचिव प्रधानले भने,‘यसमा धरान उपमहानगरपालिका, राजनीतिक दलहरु, औद्योगिक क्षेत्र, उद्योग वाणिज्य संघ सबै लाग्नुपर्छ ।’

नेपाली कांग्रेसका नगरसभापति तिलक राई घिसिङले महत्वकांक्षी कुरा गरेको प्रतिक्रिया दिदै त्यस बिषयमा स्थानीय सरकारले समिति बनाएर थप छलफल र प्रक्रिया अघि बढाउनुपर्ने बताए । ‘हामी राजनीतिक दलहरुले उपमहानगरपालिकालाई भन्नेवाला छौ, एउटा छलफल चाडो गरौ, र समिति बनाएर अध्ययन गर्ने, प्राधिकरणसँग प्रक्रिया अघि बढाउनुपर्छ,’सभापति राईले भने,‘विजुली छैन, बिपी प्रतिष्ठान डिजेल प्लान्टले चल्छ । धरानको औद्योगिक क्षेत्र विस्तार गर्ने कुरा छ, पर्यटनमै पनि लगानी भित्रिन्छ । सय मेघावाट त धरानलाई अति आवश्यक छ ।’