काठमाण्डौँ  : काठमाण्डौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिए ।  उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उहाँले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको उनले जानकारी दिए ।  गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएकोलगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल सङ्घले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए ।

उजरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ ।  गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।  यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ ।  एन्फा प्रवक्ता किरण राईले आरोप लगाएर मात्र हुँदैन प्रमाणित गर्नुपर्ने बताएको छ । आरोप प्रमाणित भए कारवाही भोग्न तयार रहेको तथा अन्यथा जिल्ला फुटबल सङ्घहरूमाथिनै कारवाही हुने उनले चेतावनी दिएकोछ ।

एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३ गते बोलाएको छ । कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताए । –रासस