इटहरी:थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको रामधुनीमा तीन दिने माघी महोत्सव शुरु भएको छ ।

थारु कल्याणकारीणी सभा सुनसरीको आयोजनामा थारु जातीको पहिचान झल्कने विभिन्न सामाग्रीहरुका साथै थारु परिकार रहेको माघी महोत्सवको सभाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कन्नुराम चौधरीले उद्घाटन गरेका थिए । जातिय पहिचानका भेषभुषा, परिकार, कला संस्कृतिहरु समेटीएका स्टलसमेत रहेको तीन दिने माघी महोत्सवमा रहेका छन् । थारु समुदायले नयाँ अन्नवाली भूमिदेवलाई चढाएर खाने जातीय परम्परा अनुसार बादी थन्काएर जाडोको विदाइको कामना गर्दै माघ १ गतेका दिन माघी पर्व मनाउने गरेका छन् ।

परम्परादेखि नै माघ १ गतेका दिन थारुहरुले आफुहरुले नयाँ बाली देवतालाई चढाई खाने तथा जाडोको समय र सोही समयमा उत्पादन हुने तिल ,उखुको रसबाट वनाइने सख्खर आदिको प्रयोग गरी वनाइने लड्डु आदि खाने प्रचलन रहेको समेत रहेको छ । तिल र भुजाको लडडुका साथै तरुल समेत खाने प्रचलन रहेको छ । थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षमा भएको उद्घाटन सत्रका बक्ताहरुले थारुहरुका लागि माघी पर्व महान चाड भएको वताए । त्यसै गरी माघी पर्वकै अवसरमा सुनसरीको बक्लौरीमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरि माघी पर्व वनाइएको छ ।