धरान: भारतको पुर्वी उत्तर राज्य सिक्किममा भएको बसपार्क अध्ययन गर्न र धरानको पर्यटन विकास गर्न भन्दै धरान उपमहानगरपालिकाबाट ३० जनाको जम्बो टोली भोली बुधबार सिक्कम जाने भएको छ ।

कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा यो टोली उपमहानगरको खर्चमा सिक्किम जान लागेको हो । तीन दिनको यो भ्रमणमा १२ जना कलाकारहरुको टोली पनि छ । केही कार्यपालिका सदस्य, केही कर्मचारी र बसपार्क व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरु पनि छन् । यो भ्रमणको लागि ३ लाख बजेट विनियोजन गरिएको उपमहानगरले जनाएको छ । पछिल्लो समय धरानमा विकासको ठोस कामहरु हुन नसकेको आलोचना भइरहदा कार्यवाहक प्रमखुको नेतृत्वमा टोली सिक्किम जान लागेको हो । जनप्रतिनिधिहरु पछिल्लो समय काम भन्दा घुमघाममा बढी ध्यान दिन थालेका छन् । 

धरानको पर्यटन विकास र बसपार्क अध्ययन भनिए पनि सिक्किममा हुने रेड पाण्डा फेस्टिवलमा भ्रमण टोली सहभागी हुनेछ । कलाकार टोलीले साँस्कृतिक प्रस्तुती दिने र बसपार्कको अध्ययन पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाले बताए । उनका अनुसार पर्यटन विकास कसरी गर्ने ? सिक्किम आएका पर्यटकलाइ कसरी धरान ल्याउने र त्यहाँका मानिसलाई धरान कसरी ल्याउने भनेर अध्ययन हुनेछ । 'त्यहा सानो बसपार्कमा राम्रो व्यवस्थापन गरिएको छ रे, त्यसको पनि अध्ययन गर्ने हो,' उनले भने,'टोली ठुलो भएपनि १२ जना कलाकार नै हुन् । कर्मचारी, जनप्रतिनिधि पनि हुदा धेरे देखिएको छ ।' प्राविधिक विना बसपार्क अध्ययन गर्न जान लागेको हो ? भन्ने प्रश्नमा उनले इञ्जिनियर सौहार्द श्रेष्ठ पनि सँगै जाने बताए ।

एक कार्यपालिका सदस्यले भने गान्तोक र धरानबीच भगिनी साइनो गाँस्न र बसपार्क अध्ययन गर्न टोली सिक्किम जान लागेको बताए । उनका अनुसार पुष २७ गतेको कार्यपालिका बैठकले गरेको निर्णय हो । 'गान्तोकसँग भगिनी सम्बन्ध गाँस्ने मुख्य हो, अरु सहायक कुरा हो, हामीलाई त्यति थाह छ,'उनले भने । गत बर्ष पनि धरान र इलामबीच मितेरी साइनो गाँस्न कर्मचारी, दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, कलाकर, पत्रकारहरुको जम्बो टोली इलाम लगिएको थियो ।