झापा:जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा स्थापित धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी बृद्धि गरिने भएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विर्तामोडमा सम्पन्न कार्य समितिको बैठकले धनमाया सक्रिय महिला पत्रकारिताको पुरस्कारको राशी बृद्धि २१ हजार पुर्याउने निर्णय गरेको महासचिव छविलाल खतिवडाले जानकारी दिए । एउटै मञ्चमा राखेर साहित्य र पत्रकारिता क्षेत्रका सर्जक स्रष्टा तथा पत्रकारलाई पुरस्कृत गर्दा प्रदान गरिने पुरस्कार राशीपनि समान रुपमा प्रदान गर्ने निष्कर्ष निकाल्दै यसअघि प्रदान गरिंदै आएको १५ हजार राशीलाई बढाएर २१ हजार पुर्याइएको हो ।

चुनौतिपूर्ण मानिएको पत्रकारिता क्षेत्रमा काम गर्न महिलालाई थप हौसला मिलोस भन्ने उद्देष्यले स्थापित पुरस्कारको राशीलाई यो वर्षदेखि समान गरिएको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए । कोषले हरेक वर्ष दीर्घ साहित्य सेवातर्फ विष्णु चन्द्र पद्मा पुरस्कार र वर्षोत्कृष्ट कृति छनौट गरी जनही २१ हजार पुरस्कारको राशी प्रदान गर्दै आएको थियो । कोषले यही माघ महिनामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने तयारी गरिरहेको छ ।