इटहरी : भुकम्पीय दृष्टिले सुरक्षित सहर नमानिने इटहरीमा बुधबार २१ औ भुकम्प सुरक्षा दिवस अवसरमा छलफल भएको छ । उक्त छलफलमा मेयर द्धारिकलाल चौधरीले भवन निर्माण संहिता कार्यावन्यनमा कुनै कसर बाँकी नराख्ने ठोकुवा गरे ।

मेयर चौधरीका अनुसार भुकम्प आफैंले मान्छे मार्ने नभई मान्छेले बनाएका संरचनाले मार्ने दाबी गरे । उनले छलफलमा भने,‘हामीले बनाएका संरचनाले हामीलाई मार्ने हो, भुकम्पले कसरी मान्छे मार्छ भन्नुहोस् रु’ उनले मान्छेको ज्यान जाने गरी घर बनाउन नदिनका लागि उपमहानगरपालिकाले कदम चाल्ने बताए ।

यसका लागि घरधनी, डकर्मी, सिकर्मी, कन्सल्टेन्सी, ठेकेदार सबै पक्षलाई भुकम्प प्रविधी राष्टिय समाज नेपाल एनसेटको प्राविधिक सहयोगमा उपमहानगरले विभिन्न चरणमा तालिम प्रदान गर्ने मेयर चौधरीले छलफलमा बताए । घर नक्सा नबनाई घर बनाउन नपाइने र जस्तो घर नक्सा पास भएको छ त्यस्तै घर बनाउनुपर्ने मेयर चौधरीको धारणा थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत केशव विमलीले भवन निर्माण संहिता कार्यावन्यनका क्रममा भएका कमिकमजोरी हटाएर अब कडाइका साथ कार्यावन्यन गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । भवन निर्माण संहिता प्रभावकारी कार्यावन्यनका लागि उपमहानगरले बुधबार तीन चरणमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । पहिलो चरणमा इन्जिनियर, ओभरसियर र कन्सल्टेन्सीसँग कसरी भवन संहितालाई प्रभावकारी रुपमा कार्यावन्यन गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरियो । दोस्रो चरणमा भवन निर्माण ब्यवसायीसँग छलफल गरिएको थियो भने ब्यवसायीहरुले अनुगमनलाई नियमित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

तेश्रो चरणमा संचारकर्मीसँग अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा उपमहानगर घर नक्सा फाँट प्रमुख विकास भट्टराईले अनुगमनलाई प्रभावकारी नियमित र ब्यवस्थित वनाइने प्रष्ट पारे । इटहरीमा बर्षमा तीन हजार भन्दा बढी नयाँ संरचना बन्ने गरेको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ । तर, यी संरचनाहरु भुकम्पबाट प्रभावित हुने भएकाले आगामी दिनमा यसलाई कडाई गरिने उपमहानगरपालिकाले जनाएको छ ।