तेह्रथुम : २१ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको सन्दर्भमा बुधबार तेह्रथुमका ६३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी तेह्रथुमको आयोजनामा भएको रक्तदान कार्यक्रममा १० जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् ।

म्याङलुङस्थित रेडक्रस चौकमा भएको रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए । जिरिखिम्तीमा भएको रक्तदानमा १३ जनाले रक्तदान गरेका रेडक्रसका जिल्ला सभापति श्रीकृष्ण दाहालले बताए । कार्यक्रममा प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सन्चारकर्मी लगायतले रक्तदान गरेका थिए ।

रक्तदानबाट संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा सुनसरीमा बैंकिङ गरी तेह्रथुम जिल्लाबाट विपी स्वास्थ्य अध्ययन विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ जाने विरामीहरुलाई जिल्ला शाखाको सिफारिसमा प्रदान गरिने जनाइएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमको आयोजना तथा सहयोगी बचत तथा ऋण सहकारी, गुराँस बचत तथा ऋण सहकारी र भीजन बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा सम्पन्न भएको हो ।