धरानः धरानका युवा गल्फर शुक्रबहादुर राई र बराहक्षेत्र घर भएका टंकबहादुर कार्की जोडी रहेको नेपालको टिमले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम ईभेन्टसमा स्वर्ण पदक जितेको छ ।

कुर्मितोला गल्फ क्लबमा बुधबार शुक्र र टंकको नेपाल ए ले कुल १२ ओभर ३०० स्कोरकासाथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण जितेको हो । बंगलादेशको बि टिम ३०३ स्कोर सहित दोस्रो र ३०७ स्कोर जोडी बंगलादेशको बी टिम तेस्रो भएको छ ।
दोस्रो चरणको खेलमा टंकले १ ओभर ७३ र शुक्रले ३ ओभर ७५ अंक बनाएसँगै ४ ओभर १४८ को नतिजा निकाल्दै नेपालले स्वर्ण जितेको हो । पहिलो चरणमा दुबैले ४ ओभर ७६ अंक जोडदा नेपाल दोस्रो स्थानमा थियो।

यसैगरि, युवा खेलाडी सुबास तामाङ र युवराज भुजेलको नेपाल बी टिम ३३१ अंक सहित छैटौ भयो । टिम स्पर्धामा कुल दश टिमको सहभागिता रहेको थियो । व्यक्तिगतर्फ युवराज भुजेल बाहेक अन्य चार नेपाली खेलाडीले कट बनाएका छन् । टंक कुल ४ ओभर १४९ को नतिजामा तेस्रो स्थानमा रहँदा लिडर बंगलादेशका सफिक भागा भन्दा ४ स्ट्रोकले पछाडि छन् । सफिकले ईभन पार ७२ मा दोस्रो चरण सकाउदा कुल १ ओभर ४५ अंक जोडे । १४७ अंक बनाएका पाकिस्तानका अहमद बेग दोस्रो स्थानमा छन् ।

शुक्र १५० अंक सहित छैटौ र सुबास तामाङ १५४ अंक सहित १० औ स्थानमा रहेका छन् । ग्रसतर्फ टासी घलेले पनि कट बनाए ।उनले बुधबार ६ ओभर ७८ र पहिलो दिन ८७ स्कोर गरेका थिए । कट बनाउन नसकेका युवराज भुजेलले ३३ ओभर १७७ अंक बनाए।