नाम्जे (धनकुटा): धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मा अवस्थित पर्यटकीयस्थल नाम्जेलाई थप प्रचारप्रसार गर्न आयोजित माघी महोत्सव सकिएको छ ।

पौष २९ गतेदेखि सुरु भएको माघी महोत्सवको बुधबार समापन भएको हो । करीब दुई दर्जन बढी स्टलहरु राखिएर यहाँ उत्पादन भएका अर्गानिक परिकारहरुको प्रचार गरिएको थियो । उक्त महोत्सव पहिलोपल्ट भएपनि भव्यरुपमा सम्पन्न भएको आयोजक अनिल राना मगरले बताए । यहाँ पर्यटनको प्रचुर सम्भावना रहेपनि प्रदेश सरकारले चासो नदिएका कारण पछाडि परेको स्थानीय राजन न्यौपानेले बताए । प्रदेश सरकारले विशेष बजेट छुट्याएर पर्यटनको क्षेत्रमा खर्च गर्न सकेमा राम्रै सम्भावना रहेको उनको भनाई थियो । 

भेडेटारबाट नाम्जे पुग्नका लागि करीब ४ किलोमिटर बाटो पिच भएमा पर्यटकहरुको संख्यामा अझै थप हुने नाम्जे थुम्की बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक मगर बताउँछन् । उनी भन्छन्, ‘भेडेटारबाट यहाँ आउँने बाटो जीर्ण भएका कारण पनि पर्यटकहरु आउन डराउँछन्, यो बाटो छिट्टै बनेमा पर्यटकहरुको चहलपहल अझै बढी हुनेथियो ।’

२०६८ मा अमेरीकी समाचार संस्था सीएनएनले घुम्नैपर्ने विश्वका १२ स्थान मध्ये ८ औमा सुचिकृत गरेपछि यहाँ पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । यहाँ अहिले दैनिक डेढ सयको संख्यामा बाह्य पर्यटकहरु आउने गरेको सागुरीगढी ६ का वडाध्यक्ष यम प्रकाश मगर (दीपक) ले बताए । साँगुरीगढी ६ मा मात्रै ८ सय ३२ घरधुरी रहेको र त्यसमध्ये दुई सय ३० घरधुरी मगर जातीहरु बसोबास गर्छन् । यहाँ १९ घरमा होमस्टे रहेको छ । पर्यटन क्षेत्रका लागि गर्नुपर्ने कामहरु धेरै रहेको भएपनि आँफूले काम गरिराखेको उनको भनाई थियो । होटल नाम्जे भ्यू पोइन्टका सञ्चालक सुदर्शन खड्काले पर्यटन प्रर्वद्धनसँगै नाम्जेलाई चिनाउनका लागि माघी महोत्सव गरिएको बताए ।